लागुऔषध नाइट्राभेटसहित हेटौंडाबाट दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागुऔषध नाइट्राभेट एक हजार १८९ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ बस्ने २६ वर्षका प्रेमप्रसाद दाहाल र २२ वर्षकी निकिता पुडासैनी रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक हजार १८९ ट्याब्लेट नाइट्राभेट फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटरको चेकजाँचको क्रममा लागुऔषध फेला परेको हो।
शंकाको आधारमा खानतलासी गर्दा स्कुटरको डिक्कीभित्र लुकाएर ल्याएको अवस्थामा एक हजार १८९ ट्याब्लेट लागुऔषध नाइट्राभेट फेला परेको प्रवक्ता अर्यालले बताए। लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।







