हेटौंडामा हुनलागेको व्यापार महोत्सवको तयारी पूरा, पहिलो दिन प्रवेश नि:शुल्क

अखबार हब
२०८१ फाल्गुन ५, सोमबार २२:२१

हेटौंडा । भोलिबाट सञ्चालन हुन लागेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो।

निर्माण व्यवसायी सघ मकवानपुरले १० वर्षपछि पुनः आयोजना गर्न लागेको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्ने र उद्घाटन समारोहमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी गराएको छ।

महोत्सवमा ३५० भन्दा बढी स्टल रहनेछन्, जसमा निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी तथा उपभोक्ताहरूको सहभागिता रहनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहनस्वरूप स्टल भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको आयोजकले जनाएको छ।

निर्माण उपकरण तथा औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुनेछ, जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्नेछन्। १६ जना प्रतिस्पर्धी छनोट भइसकेका छन्, जो महोत्सव अवधिभर स्टेज प्रस्तुति दिनेछन्। विजेताको घोषणा दर्शक भोटिङमार्फत गरिने आयोजकले जनाएको छ।

हेटौंडा–१० स्थित टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ। प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आगन्तुकहरूका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा करिब १ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। साथै, महोत्सव अवधिमा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*