उठ्नथाल्यो हेटौंडा बजार क्षेत्रको फोहोर

अखबार हब
२०८१ माघ २९, मंगलवार १७:२२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रको फोहोर उठ्न थालेको छ ।

हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धमा दायर रिट निवेदन उच्च अदालत पाटन हेटौंडा इजलाशले खारेज गरिदिए सगै फोहोर उठ्न थालेको हो । मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिए पछि तत्काल बजार क्षेत्रको फोहोर व्यवस्थापनमा उपमहानगर लागेको हो ।

गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न भनिएको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौँडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको जनाएको थियो ।

गत मंगलबार उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रिट निवेदन दायर गर्ने पक्ष र रिट निवेदनमा विपक्षी बनाइएको हेटौँडा उपमहानगरपालिका र ग्रीन एण्ड क्लिन सिटी प्रालि दुबै पक्षलाई माघ २९ गते मंगलबार अदालतमा छलफलका लागि बोलाएको थियो ।

मंगलबार उच्च अदालतले रिट निवेदन खारेज गरेसँगै डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न सकिने भएको छ । पाँच दिन फोहोर नउठ्दा हेटौँडा बजार क्षेत्रमा फोहोर थुप्रिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*