हेटौंडाको ३ नम्बर वडा बालमैत्री वडा घोषणा गरिदैँ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
आगामी माघ १३ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।
शुक्रबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दे कार्यक्रम बारे जानकारी गराएको हो । ‘बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ माघ १३ गते आईतवार ३ नं. वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासन वडा समितिका अध्यक्ष ढलकबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४९ वटा सुचकहरुमा शत प्रतिशत र बाँकी २ वटामा क्रमश ९८ र ९५ प्रतिशत नतिजा हाँसिल भएको बताए ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सुचक मापनको प्रतिवेदन, स्थिति पत्र, वडाको पञ्चवर्षीय रणनीतिक योजना समेत तयार भइसकेको उनले बताए ।
घरधुरी तथ्यांक संकलन २०७९ अनुसार ३ नं. वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या १ हजार ४ सय ९८ रहेको छ । जसमा ७ सय ९३ बालक र ७ सय ५ बालिका रहेका छन् ।







