हेटौंडाको ४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिँदै

अखबार हब
२०८१ भाद्र २६, बुधबार २१:२१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै ४ नम्बर वडा सदस्य एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समितिकी सह संयोजक गिता त्रिपाठीले २८ भदौमा वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा र तेस्रो बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ हुन लागेको घोषणा कार्यक्रममा बिहान ७ बजे हुप्रचौरमा जम्मा भई करीब ७ हजार जनाको संख्यामा झाँकी र बाजागाजा सहितको र्याली निकाली वडा परिक्रमा गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

नेपाल सरकारको मापदण्ड अनुसार बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ मध्ये ४९ वटा सूचकहरु १०० प्रतिशत, २ वटा सूचक ९५ प्रतिशत, नतिजा हासिल गरिएको वडाले जनाएको छ ।

४ नम्बर वडामा समुदायस्तरमा ११, विद्यालयस्तरमा ८ र वडामा १ गरी २० बाल समूह सञ्जाल रहेका छन् । जसमा ४ सय ७५ जना बालवालिकाहरु आवद्ध छन् । यस वडामा बालबालिकाको संख्या ४ हजार २ सय ७० रहेको छ । जसमा २ हजार २ सय ५१ बालक र २ हजार १९ बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी जम्मा ८ वटा विद्यालयहरु सञ्चालनमा छन् भने अटीज्म भएका बालबालिकाहरुको सिकाईका लागि सेन्टर फरअटिजम संस्था समेत रहेको छ ।

कार्यक्रममा उत्कृष्ट र्याली प्रदर्शन गर्ने ३ वटा टोलीलाई पुरस्कार प्रदान गरिने, वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामाग्रीको स्टल राखीने आयोजकले जनाएको छ ।

यस्तै प्रत्येक विधामा उत्कृष्ट प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीको समूह र उक्त विधासँग सम्बन्धित विषय शिक्षकलाई पुरस्कृत गर्ने बताइएको छ । करिब १५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रममा करिब आठ लाख खर्च हुने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*