दुध अभावमा बागमती प्रदेश सरकारको पाउडर प्लान्टको उत्पादन बन्द

अखबार हब
२०८१ भाद्र २६, बुधबार ०८:१८

हेटौंडा । दुग्ध विकास आयोजना अन्तर्गतको बागमती दुग्ध पाउडर प्लान्ट विगत २ महिनादेखि ठप्प छ ।

गत बर्षको असोजमा निर्माण सम्पन्न भएको बागमती दुग्ध पाउडर प्लान्ट हेटौंडा दुग्ध विकास संस्थान डीडीसीले सञ्चालन गर्दै आएकोमा पर्याप्त दुध सङ्कलन नभएको भन्दै प्रदेश सरकारको सो प्लान्ट गत साउन पहिलो साताबाट बन्द गरिएको हो ।

मेसिन सञ्चालन नगर्दा बिग्रने भएकाले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको दुग्ध विकास आयोजनाले २०८० माघमा सम्झौता गरेर प्लान्ट सञ्चालनको जिम्मा डीडीसीलाई दिएको थियो ।

त्यस यता डीडीसीको भरोसामा टिकाइएको सो प्लान्टले २ महिनादेखि उत्पादन गर्न सकेको छैन । २०८० मंसिरमा बोर्डको खर्चमा डीडीसीले नै सो उद्योगको उत्पादन परीक्षण गरेको थियो । परीक्षण सफल भएपछि करिब २ महिना सो प्लान्ट डीडीसीले नै विनासम्झौता सञ्चालन ग¥यो । सम्झौतापछि पनि डीडीसीबाट प्रदेश सरकारले प्रतिफल तथा फाइदा लिन सकेको छैन ।

डीडीसीले हेटौंडा आयोजनामा सङ्कलन भएको दुधलाई ट्याङ्करमा भरेर प्लान्टमा ल्याउँछ र पाउडर उत्पादन गर्छ । उत्पादित पाउडर दुध डीडीसीले नै बजारमा पठाउँछ । उद्योग सञ्चालन बापत हालसम्म प्रदेश सरकारले कुनै प्रतिफल प्राप्त गरेको छैन ।

प्रदेश सरकारले प्रतिफल प्राप्त नगरे पनि प्लान्टको संरक्षण भइरहेको बोर्ड बताउँछ । सञ्चालन नगर्दा प्लान्ट बिग्रिनसक्ने भएकाले संरक्षण र नियमितताका लागि डीडीसीलाई सञ्चालन गर्न दिएको र त्यसबापत हालसम्म कुनै राजस्व प्राप्त नभएको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले बताए ।

डीडीसीलाई सुम्पिएको सो प्लान्ट ठोस मोडालिटी र शर्तसहित डीडीसीलाई नै दिने तयारी प्रदेश सरकारले गरेको छ ।

डीडीसीका कार्यकारी निर्देशकलाई शर्तनामा गरेर प्रदेश सरकारले रोयल्टी पाउने गरी सञ्चालन गर्न दिने बोर्ड र मन्त्रालयको योजना छ । सोही अनुसार बोर्डले स्थायी प्रबन्ध नभएसम्म डीडीसीलाई जिम्मा लगाउने गरी सञ्चालन मोडालिटी प्रस्ताव माग गरेको थियो । तर, डीडीसीले हालसम्म प्रस्ताव पेस गरेको छैन ।

२०८१ भदौ ६ मा प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष एवं कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डीडीसीसँग प्लान्ट सञ्चालन कार्ययोजना माग्ने निर्णय गरेको थियो । भदौ २० भित्रै कार्ययोजना माग गरिए पनि हालसम्म डीडीसीले प्रस्ताव पेस गरेको छैन । सचिव भट्टराईका अनुसार प्लान्ट सञ्चालनका लागि डीडीसी तयार र सकारात्मक छ । केही दिनमै कार्ययोजनासहित प्रस्ताव प्राप्त हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*