निजगढमा श्रीमान्ले गरे श्रीमतीको हत्या
निजगढ । बाराको निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति श्रीमान्ले श्रीमतिको हत्या गरेका छन् ।
शौच गर्न बसेकी ३८ वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४२ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
बिमलको खुर्पा प्रहारबाट उनकी २ छोरी १७ वर्षीया गंगा राई र जमुना राईसमेत घाइते भएका छन् ।
आमालाई बचाउने क्रममा उनीहरूको हातमा घाउ लागेको छ । उनीहरूलाई उपचारका लागि वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा लगिएको उनले बताए । प्रहरी निरीक्षक कुशवाहाका अनुसार बिमल प्रहरी नियन्त्रणमा आइसकेको छ । श्रीमान् र श्रीमतीबीच झगडा पर्दा मदिराको नशाको झोंकमा बिमलले खुर्पा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । शव परीक्षणका लागि कलैया प्रादेशिक अस्पताल पुर्याइएको छ ।
दुई छोरीकी आमा लक्ष्मीले बिमल बस्नेतसित ६\७ वर्षअघि दोस्रो विवाह गरी बस्दै आएकी थिइन् । दुई छोरी भने पहिलाकै श्रीमान्बाट जन्मेकी हुन् ।







