सिस्नुपानीले हेटौंडामा गाईजात्रा गर्ने
हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले हेटौंडामा हास्य व्याङ्ग्यात्मक गाईजात्रा कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवर्दनमा भदौ ३ गते हास्य व्यङ्ग्यात्मक गाईजात्रा हुने भएको हो ।
शनिबार सिस्नुपानी नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो ।
कार्यक्रम हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना हुने सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीन प्रसाद लामिछानेले जानकारी दिए ।
कार्यक्रममा समसमायिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरुद्धमा मनोरञ्जनात्मक क्यारिकेचर गरिने उनले बताएका छन् ।
कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर,प्यारोडि गायन, सामाजिक मुद्धामाथि प्रहसन नाटकीय प्रस्तुति, पेचिलो हास्यव्यङ्ग्यात्मक अन्तर्वाता, कविता र हास्यव्यङ्ग्ययुक्त बजेट भाषण लगायतका प्रस्तुतिहरु हुनेछन् ।
यसअघि संस्थाले नियमित रुपमा स्थापना दिवस, गाईजात्रा विशेष, भैरब जयन्ति, र देउसीभैलोको अवसरमा विशेष हास्यव्यङ्ग्यतत्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले स्थानिय कलाकारलाई हौसला दिन तथा स्थानिय भाषा कला सस्कृतिलाई प्रवर्दन गर्न यस किसिमको कार्यक्रमको आयोजना गर्न लागेको बताएका छन् । हिजो व्यवस्था ढाल्नको निम्ति हास्यब्यङ्ग्य हुने गरेकोमा हाल व्यवस्था टिकाउन यस्ता कार्यक्रम हुने गरेको उनको भनाई छ ।
कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा सिस्नसपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, साहित्यसंगम मकवानपुरका सल्लाहकार , साहित्य संगम मकवानपुरका अध्यक्ष डि.वि बर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीन लामिछाने, साहित्य संगम मकवानपुरका सल्लाहकार सुवास खनाल लगायतको उपस्थिति रहेको थियो ।







