वन मन्त्री पोखरेलको ७८ बुँदे प्रतिवद्धता

अखबार हब
२०८१ बैशाख २१, शुक्रबार १८:४५

मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोख्रेलले प्रतिवद्धता सार्वजनिक गरेका छन् । मन्त्री भएर पदभार ग्रहन गरेको एक महिना पछि उनले गरिने कामको प्राथमिकता बनाउँदै ७८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै समय सापेक्ष वन ऐन, नियमावली, वातावरण ऐन, वातावरण नियमावली र नीतिहरु तयार गरिने बताए ।

प्रदेशका सबै जिल्लामा वन पैदावारको सहज आपूर्तिको लागि सबै जिल्लाहरुमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरिने बताए । अतिक्रमण नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कार्यविधि बनाई लागु गरिने बताउँदै –’वन संरक्षण तथा व्यवस्थापनमा अहोरात्र खटिने वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहको मनोबल वृद्धि गर्न बिमाको व्यवस्था गरिनेछ । विकास निर्माण कार्यको दिगोपना कायम गर्न र वातावरण मैत्री बनाउन विकास कार्यमा विनियोजन हुने बजेटको निश्चित प्रतिशत रकम वातावरण संरक्षण कार्यमा छुट्याउने नीतिगत व्यवस्था गर्न पहल गरिनेछ । प्रदेश भित्रको राष्ट्रिय वन क्षेत्र र वन सिमाङ्कनको अवस्था अध्यावधिक गरी पुस्तिका प्रकाशन गरिनेछ ।’

वन मन्त्री पाखे्रलले निजी वन क्षेत्रको वातावरण संरक्षण र आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान भएकाले निजी वन व्यवस्थापन कार्यविधि बनाई प्रभावकारी कार्यान्वयन गरिने बताए । वन क्षेत्रको भोगाधिकार पाएका निकायहरुको तथ्याङ्क अध्यावधिक गरी सम्झौताका शर्तहरु र वातावरणीय अध्ययन प्रतिवेदन अनुसार पुरा गर्ने दायित्वको अनुगमन गर्ने, पालना नभएको पाइएमा कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने प्रतिवद्धता व्यक्त गरे ।

हरित शहर हरियाली क्षेत्र निर्माण गर्न स्थानीय तह सँगको सहकार्यमा घरको नक्शा पास गर्दा नै एक घर एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिने बताए । अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको कार्यक्रम बागमती प्रदेशमा बिस्तार गराउन आवश्यक पहल गरिने बताए । ‘वन संरक्षण, व्यवस्थापन तथा सदुपयोग वन तथा वातावरण क्षेत्रको जानकारी तथा तथ्याङ्क जनमानस सम्म पुर्याउन तथा तथ्यपरक योजना तर्जुमा गर्न वन क्षेत्र सूचना प्रणाली अन्तरगत टोल फ्रि नम्बर तत्काल सञ्चालनमा ल्याउईनेछ । डिभिजन वन कार्यालयहरु मार्फत वनको अवस्था, उपभोक्ताको चाहना तथा क्षमता अनुसार दिगो वन व्यवस्थापन कार्यविधि अनुसार उत्पादनशील वन क्षेत्रमा वन व्यवस्थापन तथा सदुपयोगको कार्य सञ्चालन गरिनेछ ।’उनले भने ।

मिचाहा प्रजातिहरुको कारणले वनको उत्पादकत्वमा ह्रास भईरहेकोले मिचाहा प्रजातिहरुको नियन्त्रण तथा व्यवस्थापनको लागि भित्रि मधेशका जिल्लामा पाइलट कार्यक्रमको रुपमा ५०० हेक्टर वन क्षेत्रमा मिचाहा प्रजाति नियन्त्रण कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री पोख्रेलले बताए । बागमती प्रदेशको जैविक विविधता सम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेख, व्यवस्थापन तथा प्रकाशन गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*