विद्यार्थी, शिक्षक र अभिभावकलाई वडा नम्बर ४ को सम्मान
हेटौंडा । आधारभूत तहमा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह (कक्षा–८) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
शुक्रबार शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को व्यवस्थापनमा भएको विद्यार्थी, शिक्षक र अभिभावक सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा ८ को परीक्षामा ४ जीपीए ल्याउन सफल विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । ४ जीपीए ल्याउने भूटनदेवी माध्यमिक विद्यालयका अमनकुमार साह बानिया र शुभम्प्रसाद जैसवाललाई सम्मान गरिएको छ । ४ जीपीए ल्याएर सम्मानित हुनेमा नवोदय शिशु सदनका लिजा विष्ट र प्रजन्य कुशवाह छन् । यस्तै, ब्रह्मदिक एकेडेमीका प्रियान्सु पोखरेल, कृष्मा लौंडारी, आभाष घिमिरे श्रीया घोष र सुबोधकुमार आचार्यलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
आधारभूत तह उत्तीर्ण परीक्षामा विषगतरुपमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका विद्यार्थी र उनीहरुलाई अध्यापन गराउने शिक्षकलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका छात्रा ममताकुमारी चौहान र नेपाली विषय शिक्षक बिना बिडारी सम्मानित भएकी छिन् । अंग्रेजी विषयमा सर्वोत्कृष्ट अंक ल्याउने ब्रह्मदिकका दिव्यान्स शाही र कृष्मा लौंडारी, नवोदय शिशु सदनका लिजा विष्ट एवम् भूटनदेवी माविका सुनैना घिमिरे, विश्वास राई र सन्देशकुमार यादव सम्मानित भएका छन् ।
यस्तै, सामाजिक विषयमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका ब्रह्मदिकका विद्यार्थी आभाष घिमिरे र दिव्यान्स शाहीलाई सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट अंक ल्याउने व्रह्मदिककै कृष्मा लौंडारीलाई नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य तथा शारीरिक विषयमा व्रह्मदिकका विद्यार्थीहरु आभाष घिमिरे, कृष्मा लौंडारी, दिव्यान्स शाही, श्रीया घोष र विगित थापा मगर सम्मानित भएका छन् ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले ४ नम्बर वडाले शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको बताए । पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा युवा विद्यार्थी बढेकोमा चिन्ता उनले चिन्ता व्यक्त गरेकी छिन् । साथै उनले लागूऔषध दुव्र्यसनको समस्या न्यूनीकरण गर्ने काममा सबै लाग्नुपर्ने उनको भनाइ छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलले आफ्नो वडाले शिक्षा क्षेत्रमा विभिन्न रचनात्मक काम गरेर शैक्षिक आन्दोलन सुरु गरेको बताए । उनले वडाले शिक्षा क्षेत्रमा पर्याप्त बजेट खर्च गर्दै आएको भन्दै संस्थागत र सामुदायिक दुबै विद्यालयको शैक्षिक स्तर सुधारमा केन्द्रित भएको बताए ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामा, वडा नम्बर ११ का अध्यक्ष जुना दहाल, वडा नम्बर १४ का अध्यक्ष दिपक खड्का लगायतको आतिथ्यता रहेको थियो ।








