प्रदेशका १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइने

अखबार हब
२०८० फाल्गुन १५, मंगलवार १६:५७

मकवानपुर ।  बागमती प्रदेश सरकारले प्रदेश भित्रका १५ लाख ९४ हजार भेडा बाख्रालाई पीपीआर खोप लगाउने भएको छ।

यही फागुन १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी भेडा बाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले जानकारी दिए।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा २६ लाख ७७ हजार २२५ बाख्रा र ५१ हजार ४२० भेडा गरी २७ लाख २८ हजार ६४५ भेडाबाख्रा छन्। जसमध्ये सप्ताहव्यापी कार्यक्रम अन्तर्गत १५ लाख ९४ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो।

गत वर्ष मन्त्रालयले यही अभियान अन्तर्गत ९ लाख ७९ हजार १८७ भेडाबाख्रालाई पीपीआर खोप लगाउन सफल भएको थियो। ‘पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो। यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ’, सचिव कोइरालाले भने, ‘हाम्रो देशमा पीपीआर रोगका कारण वर्षेनी ठूलो संख्यामा भेडा बाख्रा मरेर कृषकहरूले ठुलो आर्थिक क्षति व्यहोर्दै आएका छन्। यस्तो अवस्था आउन नदिनका लागि मन्त्रालयले खोप अभियान सञ्चालनमा ल्याइएको हो।’

मन्त्रालयले खोप अभियान सञ्चालन गर्नका लागि खोप केन्द्रबारे सम्बन्धित वडा कार्यालय तथा पशुसेवा कार्यालयमा जानकारी गराइसकिएको जनाएको छ। २० वटा भन्दा बढी भेडाबाख्रा पालेका कृषकको फार्ममा नै खोप लगाउने प्रबन्ध मिलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*