मकवानपुरको सुकौरामा सालका रुख काटेर शिवम् सिमेन्टको खानी विस्तार

अखबार हब
२०८० फाल्गुन १२, शनिबार १९:५५

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको सुकौरामा शिवम् सिमेन्ट उद्योगले जंगलका सालका रुख समेत काटेर खानी क्षेत्र बिस्तार गर्दै ओभर बडेन समेत यत्रतत्र फालेको छ ।

खानी बिभाग संगको संझौता बिपरित सुकौराको खोटार खानी क्षेत्रमा हरिया सालका रुख समेत एक्साभेटरले उखलेर फाल्दै जंगल सखाप बनाएर ओभरबडेन समेत त्यसै फालिएको छ । जंगलको पहाड जथाभावि रुपमा खन्दै तल त्यसै फाल्दा यहाँको बस्ती समेत जोखिममा परेको छ ।

शिवम् सिमेन्ट उद्योगले तोकिएको जंगल क्षेत्रबाट मात्र उत्खनन् गर्नुपर्ने स्थानमा त्यसको पाँच गुना समेतको क्षेत्रफलमा उत्खनन् गरिरहेको स्थानीय प्रतक्षदर्शीहरु बताउँछन् । जंगलको एरिया समेत उत्खनन् गरेर त्यसै फाल्दा मकवानपुरगढीको चार वटा वडाका वासिन्दाहरु निकै समस्यामा परेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

मकवानपुर गढी गाउँपालिका स्थित खोटार खानीमा भएको अव्यवस्थित उत्खनन कारण उत्पन्न समस्याहरुका बारे ब्यापक जनगुनासो आएपछी आज यसै बिषयलाई लिएर मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौलाको नेतृत्वमा खानी क्षेत्रको अनुगमन समेत गरिएको छ ।

खानी क्षेत्रका वासिन्दाहरुलाई प्रतक्ष रुपमा असर पर्नेगरी भएको उत्खनन् र ओभरबडेन फालेका कारण तलको वस्ती जोखिममा परेको भन्दै सांसद बर्तौलाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइ, स्थानीय वासिन्दाहरु सहितले खानी क्षेत्रको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा सांसद बतौलाको नेतृत्वको टोलिले पाँच बुँदे निर्देशन दिएको छ । शिबम सिमेन्ट उद्योगले खानी सन्चालन सम्बन्धी मापदण्ड र सम्पुर्ण शर्तहरू पुर्ण कार्यान्वयन गरेर मात्रै खानी सन्चालन गर्नुपर्ने, खानीबाट निस्किएको र जथाभावी रुपमा खोलामा फालिएको ओभरबडेनलाई तत्काल व्यवस्थित गर्नुपर्ने, उक्त कार्य सम्पन्न नहुँदा सम्म खानी उत्खनन कार्य बन्द गर्नुपर्ने, प्रभावित क्षेत्रमा बस्ती संरक्षण लगायत सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु गर्नुपर्ने, आगामी दिनमा पालिकाको नेतृत्व सँग परामर्श, जानकारी र समन्वय गरेर मात्रै खानी सम्बन्धि सम्पुर्ण कार्य अगाडि बढ्ने र बढाउने निर्देशन दिइएको सांसद बर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*