चौतारा भेट्रान्स फुटबल प्रतियोगिता, लाली गुँरासको विजयी सुरुवात
मकवानपुर । तेस्रो निजगढ नगर स्तरीय चौतारा भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा लाली गुँरास युवा क्लब निजगढ ३ ले विजयी सुरुवात गरेको छ ।
बुधबार निजगढ नगरपालिका वडा नम्बर–७ स्थित नेत्रोदय माविको प्राङ्गनमा भएको खेलमा सनराइज युवा क्लब ठाडोलाइनलाई २–१ गोल अन्तरले पछी पार्दै लालीगुँरासले विजयी सुरुवात गरेको हो ।
लालीगँरासका शेखर लोप्चनले खेलको पहिलो हाफको १५ औं र १८ औं मिनेटमा १–१ गोल गर्दै सनराइजलाई दवाममा राखेको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सनराइजका दिपक बुढाथोकीले १ गोल फर्काए पनि जीतका लागि पर्याप्त हुन सकेन । खेलको म्यान अफ दी म्याच लाली गुँरासका शेखर लोप्चन भएका छन् ।
चौतारा युवा क्लब निजगढ–७ ले आयोजना गरेको भेट्रान्स फुटबल प्रतियोगिताको विजेताले ३० केजीको खसी प्राप्त गर्ने छन् भने उपविजेताले २० केजीको खसी प्राप्त गर्ने क्लबका कार्यवाहक सचीव बुद्धि राना मगरले बताए । त्यसै गरि टप स्कोर ल्याउने र प्लेयर अफ दी टुनामेन्ट हुने खेलाडीले गोल्डेन बुट प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपरले ट्रफि प्राप्त गर्नेछन् ।
चौतारा युवा क्लबका अध्यक्ष दिल बहादुर पुलामीको सभाध्यक्षतामा भएको उद्घाटन खेलमा वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
आज चौतारा युवा क्लब बी र सिगौंल एफ सि बीच दिनको ३ बजे दोस्रो खेल हुनेछ ।







