हेटौंडामा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न
मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३०० खेलाडीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको प्रथम जनज्योती तेक्वान्दो डोजाङ, दोस्रो कर्रा तेक्वान्दो डोजाङ र तेस्रो मकवानपुर तेक्वान्दो डोजाङ भएका छन् । प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो भएका समूहले शिल्ड प्राप्त गरे ।
यस्तै, प्रतियोगिताको महिलातर्फ २० केसी तौल समूहमा नामटार तेक्वान्दो डोजाङको सन्जिता घिमिरे, ४० देखि ४५ केसी तौल समूहमा जनज्योती तेक्वान्दो डोजाङको सृजना कुवँर उत्कृष्ट खेडाली घोषित भएका थिए ।
यस्थै, पुरुषतर्फ ३२ देखि ३६ तौल समूहका इन्द्रसरोवर तेक्वान्दो डोजाङको पेम्बा लामा र ५८ देखि ६२ केसी समूहका कर्रा डोजाङका अमन माझी उत्कृष्ट खेलाडी घोषित भए ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेकी लामाले उत्कृष्ट खेलाडीलाई छात्रवृत्तिको व्यवस्था गरिदिने प्रतिबद्धता गर्नुका साथै ५ लाख बराबरको खेलसामाग्री हस्तान्तरण गरेकी थिइन् । ‘पीएसएस’ अत्याधुनिक सिस्टमबाट खेल खेलाएको बज्राचार्यले बताए । आयोजकले खेलाडीलाई निःशुल्क खाना र बस्नको पनि व्यवस्था गरेको थियो ।







