बागमती प्रदेशमा डेङ्गु सङक्रमण बढ्दै
मकवानपुर । बागमती प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेङ्गु सङक्रमण पुष्टि भएको छ । सात महिनाको अवधिमा डेङ्गु सङ्क्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ । प्रदेशका १३ वटै जिल्लामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार धादिङमा ५७६ जना, काठमाडौँमा दुई जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गु पुष्टि भएको हो। रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा चार, दोलखा र सिन्धुपाल्चोकमा तीन÷तीन जनामा डेङ्गु सङक्रमण भएको छ ।
पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेङ्गु रोग सङक्रमणको उच्च जोखिम देखिएको छ । साउन दोस्रो हप्तासम्म आइपुग्दा डेङ्गु सङक्रमण भएका बिरामीको सङ्ख्याले पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रूप लिने देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेङ्गु रोग सङक्रमण भएको छ ।
साउनमा छ सय डेङ्गु सङक्रमण
साउनको १५ दिनमा यस प्रदेशका आठ जिल्लामा छ सय जनामा डेङ्गु सङक्रमण भएको छ । धादिङमा ४३८, काठमाडौँमा १२२, भक्तपुरमा आठ, ललितपुर र मकवानपुरमा नौ नौ, नुवाकोटमा पाँच, चितवनमा आठ र सिन्धुपाल्चोकमा एक जनालाई डेङ्गु सङक्रमण भएको मन्त्रालयले जनाएको छ । देशभरसहित यस प्रदेशमा पनि डेङ्गु सङक्रमणको दर बढेको छ । साउन दोस्रो सातासम्मै सङक्रमणको दर बढ्नु चिन्ताको विषय हो, मन्त्रालयका सूचना अधिकारी भुसालले भने, “पिक समय आउँदै छ, हरेक वर्ष भदौ, असोज र कात्तिक महिनामा सङक्रमण दर अझै बढ्छ।”
डेङ्गु सङक्रमण बढेपछि धादिङ अस्पतालमा यसको उपचारका लागि पाँच शय्याको व्यवस्था गरिएको छ । धादिङमा डेङ्गु सङक्रमण बढ्दै गएपछि बिरामीको उपचारका लागि शय्या थप गरिने सूचना अधिकारी भुसालले जानकारी दिए । जनवरीबाट धादिङमा ५७६ जनामा डेङ्गु सङक्रमण भएको तथ्याङ्क छ ।
‘लार्भा खोज र नष्ट गर’ अभियान
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो। वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो ।
चालु आवमा डेङ्गुलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको सूचना अधिकारी भुसालले जानकारी दिए । गत आवमा महामारीजन्य रोग नियन्त्रणका लागि एक करोड १४ लाख ३० हजार बजेट विनियोजन भएकोमा ९३ लाख रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकबाट साभार







