भोलिदेखि हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता
मकवानपुर । हेटौंडामा खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । स्वःकेशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हेटौँडामा भोलि(मंगलबार) देखि खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।
आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । हेटौँडा–४ स्थित हुप्र चौरमा रहेको भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरका विभिन्न दशवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय हुने टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमलाई ५०/५० हजार नगद प्रदान गरिने अध्यक्ष विष्टले बताए।
यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद पाँच÷ पाँच हजार पुरस्कार प्रदान गरिने विष्टले जानकारी दिए।
करिब २५ लाख खर्च अनुमान गरिएको प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती, हेटौँडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ ।







