हेटौंडाका तेज गिरीको ‘प्रेमगञ्ज’ भदौ ३ मा आउने
मकवानपुर । हेटौंडाका तेज गिरीको मुख्य अभिनय रहेको फिल्म ‘प्रेमगञ्ज’ आगामी भदौ ३ गते रिलिज हुने भएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।
हेटौंडा ११ निवासी तेजले यो फिल्मबाट डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । उक्त मितिमा फिल्मलाई देशव्यापी रिलिज गर्न लागिएको उनले जानकारी दिए ।
तेजसहित बेनिशा हमाल र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् ।
यही फिल्मबाट अभिनय करिअर थालेका तेजले रिलिज मिति नजिकिए सँगै आफू एकसाथ नर्भस र उत्साहित भएको बताए ।
७० दिन लगाएर छायांकन गरिएको फिल्मको कुल बजेट दुई करोडभन्दा धेरै बताइएको छ ।
निर्देशक परिच्छेद सेनका अनुसार प्रेमकथामा आधारित फिल्मको बटमलाइन ‘जो जीवनमा छ ऊ मनमा छैन, जो मनमा छ ऊ जीवनमा छैन’ रहेको छ । निर्देशक सेनको यो पहिलो फिचर फिल्म हो ।







