चौथो निजगढ मेयरकपको उपाधि रौतहटलाई
बारा । चौथो निजगढ मेयर गोल्डकपको उपाधि नेपाल खेलकुद क्लव रौतहटले जितेको छ । शनिबार भएको फाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरा बारालाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद क्लब रौतहट चौथो संस्करणको निजगढ मेयर गोल्डकपको विजेता बनेको हो ।
नवजनजागृति माथि सहज जीत हासिल गरेको नेपाल खेलकुद क्लबका म्याक्सवेलले ११ औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । खेल अवधिभरी नवजनजागृति माथि हाबी रहेको नेपाल खेलकुद क्लबका लागि ३५ औं मिनेटमा फोडे फोफनाले गोल गर्दै अग्रता दोब्बर बनाए । लगत्तै ४२ औं मिनेटमा फोफनाले नै गरेको गोलले नेपाल खेलकुद क्लव रौतहटले पहिलो हाफमै ३–० को अग्रता बनायो ।
दोस्रो हाफको पटकपटकको अवसर सृजना गरेको नेपाल खेलकुद क्लबले गोल गर्न भने सफल रहेन । नवजनजागृतिको लागि खेलको इन्ज्युरी समयमा टोनिस सिनो हाङले एक गोल फर्काए ।

नेपाल खेलकुद क्लबले उपाधिसहित एक लाख पचास हजार रुपैंया प्राप्त गर्यो भने उप–विजेता नवजनजागृति युवा क्लबले पचहत्तर हजार रुपैंया प्राप्त गर्यो । उपाधि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले हस्तान्तरण गरेका थिए ।
फाइनल खेलको म्यान अफ दी म्याच नेपाल खेलकुद क्लब रौतहटका फोफना घोषित भए । म्यान अफ दी म्याच घोषित फोफनाले दुई हजार रुपैंया प्राप्त गरे ।
प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक निजगढका रवीन बस्नेत, डिफेन्स नवजनजागृतिका सागर चौलागाईं, मिड फिल्डर नेपाल खेलकुद क्लब रौतहटका रोशन पुरी, स्ट्राइकर नेपाल खेलकुद क्लबका म्याक्सवेल र उदयीमान खेलाडीको उपाधि निजगढका संजित धामीले प्राप्त गरे । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले जनही पाच/पाच हजार रुपैंया प्राप्त गरे ।
निजगढ युवा क्लबको आयोजना र निजगढ फुटबल क्लबको सह–आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य सहयोगी निजगढ नगरपालिका रहेको थियो ।







