चौतारा फाइनलमा, उपाधिका लागि निजगढ सिटीसँग भिड्ने

रवीन ढुङ्गाना
२०७८ चैत्र ९, बुधबार २२:१७

बारा । प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता अन्तर्गत् आज भएको खेलमा चौतारा युवा क्लव फाइनलमा प्रवेश गरेको छ । अब चौताराले उपाधिका लागि निजगढ सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

निजगढ– ७ स्थित नेत्रोदय माविको प्राङ्गणमा भएको अन्तिम सेमिफाइनल खेलमा नमोबुद्ध युवा क्लवलाई २–० गोलअन्तरले पराजित गर्दै चौतारा अन्तिम दुईमा पुगेको हो । चौताराको तर्फबाट कृष्टिना लामाले खेलको पहिलो हाफको ८ औँ मिनेटमा र जेनिसा थापा मगरले दोस्रो हाफको २२ औं मिनेटमा गोल गरेकी थिइन् ।

खेलभरी नै दवाबमा रहेको नमोबुद्ध दोस्रो हाफको १५ औं मिनेटमा चौताराकी जेनिसा थापा मगरले प्रहार गरेको उत्कृष्ट फ्रि–किक भने नमोबुद्धकी गोलकिपरले मुस्किलले जोगाइन् ।

खेलको लेडी पावर अफ दी म्याच चौताराकी सोनु माझी घोषित भइन् । उनले नगद १ हजार पाँच सय पचास रुपैयाँ, ट्रफी र एकजोर बुट पुरस्कार प्राप्त गरेकी थिइन् ।

पहिलो सेमिफाइनलमा एसवाइसी रामथली डम्बरपुर निजगढ–१२ लाई २–१ गोलअन्तरले पराजित गरेको निजगढ सिटीले अन्तिम दुईमा स्थान बनाएको थियो ।

खेलको दोस्रो हाफको २० औं मिनेटमा जीना गोलेले आत्माघाती गोल गर्दा निजगढ सिटी फाइनलमा प्रवेश गरेको थियो ।

चौतारा युवा क्लवको आयोजनामा जारी प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने खेल व्यवस्थापक बुद्धीबहादुर रानाले बताए ।

प्रतियोगिताको फाइनल खेल आउँदो १२ गते शनिबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*