‘सडनडेथ’बाट विजयी भएसँगै नमोबुद्धको भेट आयोजकसँग

रवीन ढुङ्गाना
२०७८ चैत्र ७, सोमबार २३:३२

बारा । नमोबुद्ध युवा क्लब ‘सडनडेथ’मा विजयी हुँदै ‘प्रथम निजगढ नगरस्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता–२०७८’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

निजगढ–७ नेत्रोदय माविको प्राङ्गणमा जारी प्रतियोगिताको दोस्रो हाफको १८ औं मिनेटमा रतनपुर युनाइटेडकी विपना श्रेष्ठले १ गोल गर्न सफल भएकी थिइन्, लगतै २२ औं मिनेटमा नमोबुद्धको लागि सुनैना तिमल्सिनाले ‘पेनाल्टी सुट’ मा गोल गर्न असफल भएकी थिइन् । तर, खेलको दोस्रो हाफको २५ औं मिनेटमा नमोबुद्धको लागि बन्धना सुनुवारको गोलपछि निर्धारित समयको खेल बराबरीमा टुंगिएको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि ‘सडनडेथ’मा रतनपुर युनाइटेड माथि ५–४ गोलअन्तरको नतिजा निकाल्दै नमोबुद्ध युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । नमोबुद्धको जीतमा गोलरक्षक जुनकेरी मोक्तानको भूमिका महत्वपूर्ण रह्यो । उनले रतनपुर युनाइटेडको एक प्रहार बचाएकी थिइन् भने एक प्रहार आउट गएको थियो ।

टाइब्रेकरमा नमोबुद्धको तर्फबाट बन्दना सुनुवार, करुणा लामा, हसिना थिङ, सुनैना तिमल्सिना र अञ्जली राउतले गोल गरेकी थिइन् । नमोबुद्धकी सविता तामाङको प्रहार रतनपुर युनाइटेडकी गोलरक्षक सन्दली कुमारीले रोकेकी थिइन् ।

‘सडनडेथ’मा नमोबुद्धकी अञ्जली राउतको गोल सफल हुँदा नमोबद्ध युवा क्लब निजगढ–६ ले आयोजक टिम चौतारा युवा क्लब निजगढ–७ सँगको सेमिफाइनल खेलका लागि भेट पक्का गरेको हो ।

टाइब्रेकरमा रतनपुर युनाइटेडको तर्फबाट विपना श्रेष्ठ, विपना लामा, अस्मिता लामा र साधाना पुलामी मगरले गोल गरेकी थिइन् भने निर्मलाको प्रहार नमोबुद्धकी गोलरक्षकले रोकेकी थिइन् र प्रेमिका लामा गोल गर्न चुकेपछि पराजित भएको थियो । हारसँगै रतनपुरको खेल यात्रा टुंगियो ।

खेलमा युनाइटेडकी विपना लामा लेडी पावर अफ दी म्याच हुँदै उनले नगद १ हजार पाँच रुपैयाँ, ट्रफी र बुट प्राप्त गरिन् । पुरस्कार एकता युवा क्लबका पुर्वखेलाडी मोती राना मगरद्वारा प्रदान गरिएको थियो ।

चौतरा युवा क्लवको आयोजनामा जारी प्रतियोगितामा ७ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

फाइनल खेलसम्म लेडी पावर अफ दी म्याचको नगद पुरस्कार थापा निर्माण सेवाका प्रोप्राइटर अर्जुन दर्लामीद्वारा सहयोग गरिने भएको खेल व्यवस्थापक बुद्धीबहादुर रानाले जानकारी दिए । त्यस्तै निजगढ–७का समाजसेवी खड्कबहादुर पुलामीद्वारा ट्रफि, सागर पुस्तक भण्डारका प्रोप्राइटर शंकर थोकरद्वारा बुट सहयोग गरिने व्यवस्थापक रानाले बताए ।

प्रतियोगिताअन्तर्गत् भोलि (मंगलबार) एसवाइसी रामथली निजगढ–१२ र निजगढ सिटी निजगढ–५ बीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*