इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा २७ फाल्गुनबाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिकाको अध्यक्ष जीवन लामाले प्रतियोगिताको उद्घाटन गरेको हो ।
प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र र छात्राहरु बिच १२ वटा खेलहरु सञ्चालन हुनेछन् । जसमा भलिबल, सटपुट, लङ्गजम्प, हाइजम्प, १ सय मिटर दौड र ४ सय मिटर दौडको छात्र र छात्राहरुबीच छुट्टाछुट्टै खेलहरु हुनेछन् ।
शुक्रबार पहिलो दिन भएको १०० मिटर दौड र सटपुटमा भएको छात्र र छात्राको १र१ खेलमा दुबै खेलबाट छात्रा तर्फ बत्सलादेवी मा।वि र छात्रतर्फ कालिका मा।वि प्रथम भएका छन् ।
भलिबल तर्फ आज ३ खेल सम्पन्न भएको छ । जसमा प्रथम चरणको खेलमा समूह क बाट कालिका मावि फाइनलमा प्रवेश गर्न सफल भएको छ ।समूह ख बाट भने फाइलनमा कुन विद्यालय जाने भन्ने टुङ्गो शनिबार हुने खेलले निर्धारण गर्नेछ ।
प्रतियोगितामा आज गाउँपालिकाको कर्मचारी र शिक्षकहरुबीच मैत्रीपूर्ण भलिबल खेलसमेत सञ्चालन भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता २९ आइतबार साँस्कृतिक कार्यक्रम सहित समापन गरिने आयोजक तर्फका खेल व्यवस्थापक धर्मानन्द पन्तले जनाएको छ । प्रतियोगिताबाट जित हाँसिल गर्ने विद्यालयले नगद रु २५ हजारसहित राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्नेछन् ।







