खेलकुद प्रतियोगिताको लागि ८ करोड खर्चँदै बागमती प्रदेश
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको ८ करोड ४ लाख लागतमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको हो ।
आज हेटौैंडामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गतेदेखि चैत १२ गतेसम्म मन्त्रालयले खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
विभिन्न नौ वटा खेल प्रतियोगिता गरि खेलाडीको सम्मान, खेलकुदको प्रवद्र्धन र बागमती प्रदेश खेलकुदको हबको रुपमा विकास गर्नका लागि प्रतियोगता हुन लागेको भण्डारीले बताए । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा पुरुष फुलबल, व्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ खेल खेलाइने जनाइएको छ ।
प्रतियोगितामा दुई हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने र खेलको उद्घाटन फागुन २८ गते हेटौंडाको क्याम्पचौरमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्ने र समापन काभ्रेको धुलिखेलमा हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको परिषद्का ससचिव भण्डारीले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले नयाँ मन्त्रालय भएकाले खेलकुदको कार्यविधि तयार पारी प्रतियोगता गरिन लागेको बताए । नयाँ खेलाडीको खोजी, र खेलकुदप्रति राज्यको प्रतिवद्धता अभिवृद्धि गर्ने र प्रदेशलाई खेलकुदको हबको रुपमा लैजान प्रदेश स्तरीय प्रतियोगिता गर्नलागेको बताए ।







