पल शाह प्रकरण : भिडबाट अनुसन्धान प्रभावित पार्ने प्रयास
काठमाडौं । नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध तनहुँ र गैँडाकोटमा उजुरी परेको छ ।
उनीमाथिको अनुसन्धान दुवै स्थानबाट भए पनि मुद्दा प्रक्रिया भने जिल्ला प्रहरी कार्यालय तनहुँबाट अगाडि बढ्नेछ । गएको आइतबार पल आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । जिल्ला अदालत तनहुँले उनलाई सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पलको पक्ष(विपक्षमा कलाकारहरू विभाजित देखिएका छन् । कतिपयले त अनुसन्धान पूरा नहुँदै पल निर्दोष रहेको दाबी समेत गरिरहेका छन् ।
दैनिकजसो तनहुँमा पलका समर्थकको भिड लागिरहेको छ । युट्युबर, आफूलाई सामाजिक अभियन्ता बताउनेहरूले घटनाका बारेमा विभिन्न धारणाहरू बाहिर ल्याइरहेका छन् ।
प्रहरीले पललाई नजिकका आफन्त र कानुन व्यवसायीलाई मात्रै भेट्न दिएको छ । अनुुसन्धानको समयमा हुने अनावश्यक भिड, सामाजिक सञ्जालमा आफूखुसी विभिन्न विचार पोस्ट गर्दा समस्या हुने प्रहरी अधिकारीहरूको तर्क छ ।
डीआईजी उत्तमराज सुवेदी आन्दोलन, प्रदर्शन र अनावश्यक भिडभाडले अनुसन्धानमा ठूलो प्रभाव पर्ने दाबी गर्छन् । उनी भन्छन्, “अनुसन्धान एकै दिनमा भइहाल्छ भन्ने हुँदैन । जति चाँडो प्रहरी अनुसन्धानमा प्रवेश गर्न पाउँछ, त्यति प्रभावकारी हुन्छ । सोही समय आन्दोलन, प्रदर्शन हुँदा प्रहरीको ध्यान अन्यत्र मोडिन्छ । मुख्य कुरामा प्रहरी प्रमुखले ध्यान दिन सक्दैन ।”
उनका अनुसार प्राविधिक पद्दतिबाट हुने अनुसन्धानभन्दा ‘म्यानुअल’ विधिबाट हुने अनुसन्धानमा केही जटिलता हुन्छन् । यस्तोमा जति ढिलो भयो त्यति नै समस्या हुँदै जान्छ ।
निर्मला पन्त हत्या प्रकरणमा भएको आन्दोलनले प्रहरी अनुसन्धान प्रभावित भएको डीआईजी सुवेदीको तर्क छ ।
बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पनि आन्दोलन चर्किन खोज्दा प्रहरीले समन्वय गरेर आन्दोलन रोकिएको र केही दिनमै अपराधी पत्ता लागेको उनी बताउँछन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर घटनालाई बंग्याउने, अतिरञ्जित पार्ने काम भइरहेको र त्यसले पनि अनुसन्धानमा समस्या भइरहेको उनको भनाइ छ ।
डीआईजी सुवेदी भन्छन्, “कतिपयले युट्युब, सामाजिक सञ्जालमा अनुसन्धान पूरा नहुँदै दोषी किटान समेत गरिसकिएको हुन्छ । यसले अनुसन्धान अधिकृतको ध्यान पनि कहिलेकाहीँ अन्यत्र मोडिन पुग्छ । अनुसन्धान गर्ने भनेको प्रहरीले हो । त्यो काम अरूले गर्ने होइन । तर, पछिल्लो समय विकृति बढ्दो छ ।”
पल शाह प्रकरणमा जिम्मेवार कलाकारहरूले नै अनावश्यक टिप्पणी गरेको विषयलाई पनि प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको आशयका रूपमा लिएको छ । पललाई भेट्ने र बाहिर आएर युट्युबरलाई अन्तर्वार्ता दिने अभियन्ता, टिकटकर पनि थुप्रै देखिएका छन् ।
प्रहरी अधिकारीहरूका अनुसार तनहुँमा दुई दर्जन बढी युट्युबर पुगेका छन् । उनीहरूले मनलाग्दी ‘कन्टेन्ट’ बनाइरहेका छन् ।
प्रहरीले पलविरुद्धका प्रमाण संकलन गरिरहेको छ । प्रहरीले पल तनहुँ र गैँडाकोटमा बसेरनबसेको रेकर्ड समेत हेरिरहेको छ । त्यसबाहेक त्यसलाई पुष्टि गर्ने प्राविधिक अनुसन्धान पनि प्रहरीले गर्नेछ ।







