‘हजुर मुसुक्कै’: एउटै म्युजिक भिडियोमा ३५ लाख लगानी

अखबार हब
२०७८ फाल्गुन ६, शुक्रबार १४:१३

काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४–१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो ।

गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । सम्भवतः यो एउटै म्युजिक भिडियोमा गरिएको हालसम्मकै महंगो लगानी हुनसक्छ ।

जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री निरुता सिंहको शीर्ष भूमिका छन् । त्यस्तै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको भिडियोमा अभिनय हेर्न सकिन्छ । भव्य सेट बनाएर दरबारभित्रको कथामा निर्माण गरिएको भिडियोमा ३५ लाख रुपैयाँभन्दा बढी लगानी भएको निर्देशक आग्रीले जानकारी दिए ।

‘तीन दिन तीन रात लगाएर छायांकन गरेका हौं । भिडियोमा स्टारकास्ट हुनुहुन्छ । उहाँहरुलाई कुनै कुरामा कम्प्रोमाइज गरेनौं । त्यसरी काम गर्दा ३५ लाखभन्दा बढी नै लगानी भयो,’ निर्देशक आग्रीले भने ।

उनले सुरुवातमा भने त्यति लगानी हुन्छ भन्ने नसोचेको बताए । बढीमा २० लाखसम्म लगानी होला भन्ने सोचेपनि ‘कम्प्रोमाइज’ नगरी काम गर्दा लगानी बढेको बताए ।

उनी आर्थिकको कुरामा धेरै शुभचिन्तकहरुले सहयोग गरेको भएर प्रोजेक्ट सम्भव भएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*