जिल्लास्तरीय भलिबलको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठानलाई
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित आमभञ्याङमा भएको पहिलो जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नंबर १ को सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ ।
आज भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँयासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल बन्यो । तेश्रो स्थानको आग्रा खेलकुद विकास समितिले नगद १५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको छाहारी क्लबले ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा आग्राका सविन कार्की बेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य बेष्ट सेटर, आमभञ्याङका आषिश घलान बेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान बेष्ट प्लेयर भए । उनीहरुले नगद पाँच हजारसहित ट्रफि पाएका थिए ।
प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाई सहितको अतिथिहरुको टोलीले पुरस्कृत गरेको थियो । कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्रप्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान गरेको थियो । कार्यक्रमको अवसर पारेर मकवानपुरका पत्रकार धर्मेन्द्र दाहाललाई स्वर्गीय केशवलाल स्मृति पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ सहित सम्मानपत्रद्वारा सम्मानित गरिएको छ ।







