क्रिकेट संघको साधारण सभा स्थगित

अखबार हब
२०७८ पुष ९, शुक्रबार १०:४७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस जारी गर्दै आगामी हप्ता हुने भनिएको साधारणसभा स्थगित गरिएको जनाएको छ ।

क्यानको पछिल्लो बोर्ड बैठकले पुस १४ र १५ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको थियो ।

तर, चार वर्षे कार्यकाल सकिएको केही जिल्ला संघले अधिवेशन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेको कारण स्थगित गरिएको क्यानले जनाएको छ । ‘नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरुमध्ये चारवर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ संघले विज्ञप्तिमा भनेको छ ।

क्यान भित्रकै ६ बोर्ड सदस्यले कप्तान ज्ञानेन्द्र लगायत ४ खेलाडीको कारवाही फिर्ता गर्न माग गर्दै साधारण सभालाई समेत अवैधानिक भन्दै स्थगित गर्न माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*