प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक, बागमतीको अधिवेशन हेटौंडामा

अखबार हब
२०७८ कार्तिक २८, आईतवार १९:१४

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको छ ।

बुढानिलकण्ठस्थित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बसेको केन्द्रीय समिति बैठकले १६–१७ मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सात केन्द्रीय नेतालाई संयोजक तोकेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रदेश १ मा पूर्वमहामन्त्री कृष्ण सिटौलालाई तोकेको छ । प्रदेश १ को अधिवेशन विराटनगरमा तय गरिएको छ । त्यसैगरी प्रदेश २ मा रमेश रिजाल संयोजक तोकिएका छन् । अधिवेशन स्थल जनकपुर तोकिएको छ ।

बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह संयोजक तोकिएका छन् । हेटौंडामा अधिवेशन हुनेछ । गण्डकी प्रदेशमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ तोकिएका छन् । अधिवेशन स्थल पोखरा तोकिएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा हुने अधिवेशनका लागि गृहमन्त्री बालकृष्ण खाड संयोजक तोकिएका छन् । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाही संयोजक तोकिएका छन् । सुर्खेतमा अधिवेशन हुनेछ ।

सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू तोकिएका छन् । धनगढीमा अधिवेशन हुनेछ ।

प्रवक्ता शर्माले प्रदेश संरचनामा पहिलोपटक गएकाले अधिवेशन सम्पन्न गर्न नेताहरुलाई संयोजक तोकिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*