ए डिभिजन लिग चार दिनपछि सर्‍यो, अब मंसिर ३ गतेदेखि हुने

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १४:३२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको शहीद स्मारक ए डिभिजन लिग चार दिन पछि सारेको छ । कात्तिक २९ गतेदेखि लिग सुरु हुने तय भए पनि अब मंसिर ३ गते सुरु हुने गरी मिति तय गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले ब्रोडकास्टिङ सम्झौता र क्लबहरुसंगको छलफलपछि लिगको मिति सरेको बताए । ‘ब्रोडकास्टिङको लागि पनि केही समय चाहिने र क्लबहरुसंग सल्लाहपछि लिगको मिति केही दिन सरेको हो’ तुलाधरले भने, ‘अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र हुनेछ ।’

लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालको शीर्ष श्रेणीको लिगमा काठमाडौंका ५, ललितपुरका ६ र विभागका ३ गरी कूल १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै प्रत्येक खेलको विजेताले ५० हजार र खेल बराबरी भए दुवै टिमले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।

लिगको समाप्तिपछि अन्तिमका दुई टिम बी डिभिजनमा घटुवा हुनेछन् ।

यस्तै यस पटक व्यक्तिगत विधाको पुरस्कारमा पनि परिवर्तन गरिएको छ । यसअघि उत्कृष्ट चार विधाका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिन्थ्यो । तर यस पटकबाट मस्ट भ्यालुएबल प्लेअरलाई गोल्डेन बल, सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट, उत्कृष्ट गोलकिपर गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गरिनेछ । यस्तै युवा प्रतिभावान खेलाडीलाई इमर्जिङ अवार्ड प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*