वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज(सोमबार) विश्वासको मत लिने भएका छन् । कात्तिक ११ गते चारदलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभा सचिवालयले पनि विश्वासको मत विभाजन गर्न आन्तरिक तयारी पूरा गरिसकेको छ । प्रदेशसभामा मत विभाजन गर्न छुट्टाछुट्टै लवी बनाइएको सचिवालयले जनाएको छ ।
सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले विश्वासको मत लिन मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रदेशसभामा आधिकारिक पत्र कात्तिक १२ गते दर्ता गराइएको जानकारी दिए । उनका अनुसार सरकारले गठबन्धनमा भएको सहमतिअनुसार विश्वासको मत लिन लागेको हो ।
‘प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार हामी ढिलाइ नगरी विश्वासको मत लिने निष्कर्षमा पुगेका हौं,’ उनले भने, ‘गठबन्धनको आन्तरिक छलफलका क्रममा तिहार अगाडि नै विश्वासको मत लिने तयारी भएको थियो । तर, सभामुख हेटौंडा बाहिर रहेको र प्रदेशसभाको आफ्नै कार्यक्रमले केही समय ढिलो भएको हो ।’
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १०९ मत छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा रहेका दलहरूसँग ५९ मत छ । गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीसँग १ मत छ ।
कांग्रेस सचेतक छिरिङ दोर्जेका अनुसार मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन गठबन्धनका चारवटै दलले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा सदनमा उपस्थित हुन निर्देशन दिइसकेको छ । ‘सरकारलाई विश्वासको मत प्रदान गरेर पूर्ण रूपमा काम गर्ने वातावरण दिनुपर्छ । त्यसका लागि गठबन्धनले छिट्टो विश्वासको मत लिन लागेको हो,’ उनले भने । उनले विश्वासको मत सजिलै प्राप्त गर्ने अवस्था भए पनि कानुनी प्रक्रिया पूरा गरेर सरकार अगाडि बढ्नुको विकल्प नभएको बताए ।
मुख्यमन्त्री पाण्डेले सदनमा रहेका साना दलहरू विवेकशील साझा, राप्रपा र नेमकिपासँग पनि प्रक्रिया पूरा गरेर मत माग्ने मुख्यमन्त्री सचिवालयले जनाएको छ । ‘सरकारले सदनमा प्रतिनिधित्व गर्ने सबै दलसँग औपचारिक रूपमा विश्वासको मत माग्नेछ,’ मन्त्री खनालले भने । उनले त्यसका लागि मुख्यमन्त्री औपचारिक र अनौपचारिक छलफलमा जुटेको बताए । विवेकशीलसँग ३, राप्रपा र नेमकिपासँग दुईरदुई मत रहेको छ ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि कात्तिक १० गते पदबाट राजीनामा दिएकी थिइन् । ५६ सांसद रहेको एमाले पार्टी विभाजनमा १३ सांसदले एकीकृत समाजवादी रोजेपछि ४३ जनामा खुम्चिएको थियो । अल्पमतमा परे पनि केही समय सत्ता लम्ब्याएकी शाक्यले कात्तिक १० मा पदबाट राजीनामा दिएकी हुन् । प्रदेश सरकारले सदनबाट विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत अगाडि बढाइसकेको छ । मन्त्री खनालले गठबन्धनमा भागबन्डा मिलाउन आवश्यक परेको खण्डमा मन्त्रालय विभाजन पनि हुन सक्ने बताए ।







