बाबुरामलाई ओलीको प्रश्न : कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो ?

अखबार हब
२०७८ कार्तिक २१, आईतवार १६:१७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’

पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*