हेटौंडा आएर जनार्दनले भने – माओवादीलाई सिध्याउन प्रचण्डमाथि हमला भयो
मकवानपुर । अर्थमन्त्री जनार्दन शर्माले माओवादीलाई समाप्त गर्न प्रचण्डमाथि हमला भएको बताएका छन्।
आइतबार हेटौंडामा भएको वाइसिएल हेटौंडाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै माओवादी स्थायी कमिटी सदस्य समेत रहेका अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले संविधानमाथि हमला गरेका प्रतिगमनकारी तत्वले माओवादी समाप्त गर्न प्रचण्डमाथि हमला गर्ने काम भइरहेको बताए।
‘समाजवादको लक्ष्यतर्फ अघि बढ्नका लागि भए पनि माओवादी र प्रचण्डको रक्षा गर्नुपर्छ’, उनले भने। शर्माले संविधानमाथि हमला गर्ने प्रतिगमनकारी तत्त्वसँग लडेर संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताए। उनले प्रतिगमनकारीको चुनौती स्विकार्दै पुनः उनीहरूलाई पराजित गर्ने चुनौती दिए।







