श्रीराम राईको ‘पोलेको मकै’ बजारमा,मुल्य ९९ रुपैँया मात्र
खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो ।
१० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ बालकथा छन ्।
‘पोलेको मकै’मा विशेषगरी बालमनोविज्ञानलाई केन्द्रमा राखिएको छ । बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामूलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए ।
हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैँया रहको छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् ।
स्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा’ संयुक्त लेखन २०७४ लगायतका कृति प्रकाशित छन् ।
विशेषगरी बालकथामा दखल राख्ने राई लघुकथा, कविता, गीत, गजल, समीक्षामा पनि उत्तिकै सशक्त छन्। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य÷पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् ।
राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि हुन् ।







