बालक हुन मन छ !
बा ! तिम्रो काँधमा बसेर
एक हातले कान
र अर्को हातले
तिम्रो कपाल मुसार्दै
मामा घर जाँदाको
क्षण सम्झिए,
फेरी बालक हुन मन लाग्यो ।
बा ! तिम्रो हातका औंला समाउँदै
त्यो पाखा पखेरा
चाहार्दाको आनन्द
उकाली–ओराली गर्दाको
रमाईलो
परालको ठूलो भारीमाथी बसेर
खेतबाट साँझ
घर फर्किएको
सम्भिएर
फेरी बालक हुन मन लाग्यो ।
गैरी खेतको आलीमा बसी
आमाले ल्याउनु भएको
गुन्द्रुक र भात
एउटै थालमा खाएको
संगै पारी खोलामा
माछा मार्न गएको
कतै टाढाबाट आउँदा
मेरो लागी भन्दै
चकलेट ल्याएको
बर्खामासमा मेला जाँदा
दिएको खाजा
मेरै लागी पातमा
पोको पारी ल्याएको
शहरबाट घर आउँदा
चित्रै चित्रले भरिएको
पुस्तक ल्याएको
सबै कुराहरु सम्झिएर
फेरी बालक बन्न मन लागको छ ।
अभाव र गरिबीको बीचमा
तिमी हाँसेको
हाम्रो घर वरपर
काग कोइली नाचेको
दश वर्षको उमेरमा
पहिलो पटक
मैले घर छाड्दा
तिम्रो आँखा रसाएको
छिट्टै फर्की आउँछु
बा !
आउँदा तिम्रो लागी
चप्पल ल्याउँछु भनेको
अनि तिमीले ठूलो मान्छे
बनेस् भन्दै
नाकको सिंगान पन्छाउँदै
हात हल्लाहर बिदा गरेको
अहिले पनि स्मृतीमा ताजै छ
त्यसैले बालक हुन मन लागेको छ ।







