वागमती प्रदेशसभाको बैठकमा एमाले सहभागी हुने, मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १३:००

मकवानपुर । वागमती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सत्तारुढ नेकपा एमाले सहभागी हुने भएको छ । एमालेले पार्टीको कात्तिक ६ गते हुने वडास्तरीय र ९ गते हुने स्थानीय तहको अधिवेशनका कारण प्रदेशसभाको वैठकमा सांसदहरु उपस्थित हुन नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएको थियो ।

तर मन्त्रीहरुको दबाबपश्चात् मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रदेशसभाको बैठकमा सहभागी हुन राजी भएकी हुन् । ‘हामी प्रदेशसभाको बैठकमा सहभागी हुन्छौँ । आजै विश्वासको मतसमेत मुख्यमन्त्रीले माग्नुहुन्छ,’ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले सदन बोलाइसकेको अवस्थामा बैठकमा जानुको विकल्प नभएको बताए ।

‘सदन सरकारको सबैभन्दा ठूलो अङ्ग हो । हाम्रो पार्टीको अधिवेशन भएका कारण बैठक सहभागी हुन सक्दैनौं भनेका हौं । तर, हामी सहभागी हुन्छौं । प्रदेशका मुख्यमन्त्रीसहित मन्त्री एवम् राज्यमन्त्री बैठकमा सहभागी हुनुहुन्छ,’ उनले भने । सदनमा सहभागी हुने वा नहुने विषयमा एमालेभित्र व्यापक मतभेद सिर्जना भएपछि मुख्यमन्त्री एवम् संसदीय दल नेता अष्टलक्ष्मी शाक्यले मन्त्री तथा आफूनिकट सांसदसँग छलफल गरेर सदनमा सहभागी हुने निर्णयमा पुगेकी थिइन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले बिहीबारको बैठकबाट विश्वासको मत लिने प्रक्रिया सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले पनि विश्वासको मत विभाजनका लागि आवश्यक तयारी गरिसकेको छ । ‘अविश्वासको मतका विषयलाई कसरी टुंग्याउने सदन कहिलेसम्म चलाउने सबै सभामुखको हातमा रहेको विषय हो । हामीले त्यस विषयमा कुनै छलफल गरेका छैनौं,’ उनले भने । सरकार संसदीय प्रणाली र संवैधानिक व्यवस्थाअनुसार अगाडि बढ्न सदैव तत्पर रहेको उनको भनाइ थियो । ईकान्तिपुर डट कमबाट साभार/ सुवास विडारी

यसमा तपाइको मत

Your email address will not be published.


*