ओली–करिश्माबीच भेट : राजनीतिदेखि चलचित्र उद्यागेगसम्मका कुरा
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री करिश्मा मानन्धरबीच भेटघाट भएको छ । मानन्धर ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेकी थिइन् । भेटमा उनीसँगै कलाकार जितु नेपाल ‘मुन्द्रे’ समेत थिए ।
यसअघि ओलीले मानन्धरलाई फोनमार्फत भेट्न बोलाएका थिए । उनले ओलीलाई आफ्नो परीक्षा चलिरहेको र परीक्षापछि भेट्ने बचन दिएकी थिइन् । सोहीअनुरूप अभिनेत्री मानन्धरले ओलीलाई भेटेकी हुन् ।
भेटमा ओलीले अभिनेत्री मानन्धरलाई १२ कक्षा सकेकोमा शुभकामना दिए भने राजनीतिदेखि चलचित्र उद्योगको विषयमा कुराकानी भएको थियो । ओलीले आफू मानन्धरको अभिनयको प्रशंसक रहेको बताएका थिए ।
यस्तै मानन्धरले ओलीलाई ‘कमेडी क्लब’ मा निम्तो दिएकी थिइन् भने जवाफमा ओलीले आफू अतिथितको रूपमा कुनै दिन आउने बचन दिएका थिए ।
ओली–करिश्माबीच पार्टी प्रवेशको विषयमा भने कुराकानी भएन । ‘क्याज्यूअल भेटघाट हो,’ भेटघाटमा सहभागी कलाकार नेपालले भने, ‘त्यस विषयमा कुराकानी भएन । अन्य रमाइलो कुरामै भुलियो । त्यस्तो माहोल नै बनेन ।’
यसअघि मानन्धरले आफूलाई ओलीले फोन गरेको भन्दै दुईपटक आफ्नो आधिकारिक फेसबूकमार्फत तस्बिर सार्वजनिक गरेकी थिइन् । जसका कारण उनी विवादमा समेत तानिएकी थिइन् ।







