भैरहवामा गृहमन्त्रीको शक्ति प्रदर्शन,९९ किलोको माला

अखबार हब
२०७८ कार्तिक २, मंगलवार १२:२७

भैरहवा । गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला र गृहनगर पुग्नुभएका गृहमन्त्री बालकृष्ण खाँणको विमानस्थलमै तामझामका साथ स्वागत गरिएको छ । उहाँलाई कार्यकर्ताहरुले ९९ किलोको माला लगाइदिएका छन् ।

मन्त्रीको स्वागतमा आज बिहानैदेखि कांग्रेस नेता तथा कार्यकर्ताको भैरहवास्थित गौतमबुध्द विमानस्थलमा थामिनसक्नुको भीड थियो । भीआईपी कक्षमा खुट्टा राख्ने ठाउँ नभएपछि सुरक्षाकर्मीलाई व्यवस्थापनमा हम्मेहम्मे परेको बताइन्छ ।विमानस्थलको मुख्यद्वारमै राखिएका सवारी साधनका कारण विमानस्थल छिर्ने अन्य यात्रुहरु बाहिरको सडकदेखि नै हिँड्न बाध्य भएका हुन् । पाल्पाको रामपुरबाट काठमाडौं जान आएका हरिशरण श्रेष्ठ सडकमा तेर्साइएका सवारी साधनका कारण मूल सडकदेखि नै हिँडेर विमानस्थल छिरेका थिए ।

गोडाको नशाको समस्याका कारण राम्रोसँग भुईंमा टेक्न समेत गाह्रो भएका ४६ वर्षे श्रेष्ठ मन्त्री खाँण चढेर आएको प्लेनबाट काठमाडौं फर्किने उडानको लागि लामो समदेखि प्रतिक्षारत थिए ।

उनले भने,‘प्लेन डिले भयो भन्ने थाहा भयो,पानी परिरहेकाले काठमाडौंबाट प्लेन उडेपछि एअरपोर्ट आउँला भनेर आफन्तको घर बुध्दचौकमै बसेँ । यतिखेर आउँदा अहिले बाटो छिचोल्नै गाह्रो भयो ।’ आफ्नो सवारी साधनलाई टाढा रोकेको प्रहरी राजनीतिक दलका नेता तथा कार्यकर्ताको गाडीलाई जथाभावी छिर्न दिएकोमा रुष्ट देखिन्थे ।

‘विमानस्थल हो कि रेल स्टेशन छु्ट्याउनै गाह्रो भयो,’कोटिहवा छपियाका दीपक उपाध्यायले जंगिदै भने ‘अरुलाई नियम सिकाउनेले पुलिसको हाकिम गृहमन्त्री आउँदा झन् ट्राफिक चुस्तता,विमानस्थलमा कोभिडविरूध्द सुरक्षा मापदण्ड अपनाउन लगाउला तथा ओहोरदोहोर गर्नेको सुरक्षा चेकजाँच कडाई गर्ला भनेको त हाटबजार झैँ पो भएको छ ।’

आज बिहान विमानस्थल पुगेको काँग्रेसीको भीड सम्हाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । डिआइजी मुकुन्द आचार्यसहितको टोली नै विमानस्थल पुगेको थियो । सशस्त्रका डिआइजी,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी,अन्य सुरक्षा निकायका प्रमुखहरुले समेत काँग्रेसीको रमिता हेर्नेबाहेक केही गर्न नसकेको देखिन्थ्यो ।

विमानस्थलमा खटिएका एक जना प्रहरीले भने, ‘यहाँ आएका सबै गृहमन्त्रीका मान्छे हुन् । केही भनियो भने समस्यामा पार्लान् भन्ने डर छ । त्यहि भएर बिस्तारै मिलाउँदै छौँ । टाउको जोगाउनै पर्यो ।’विमानस्थलमा स्वागतको लागि उभिएका सबैका हातमा माला र खादा थिए तर अधिकांशको अनुहारमा मास्क भने थिएन । कानुन कार्यान्वयन गराउने देशको गृहमन्त्री आउँदा सबैजसो बिना मास्क निर्धक्क उभिएका थिए ।

यसअघि रुपन्देहीमा एमाले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल आउँदा प्रायः ५० वटा मोटरसाइकलले एस्कर्टिङ गर्ने परम्परा नै थियो । यो पटक भने खाँणले मोटरसाइकल होइन गाडीको ताँती लगाएर शक्ति प्रदर्शन गरेको स्थानीयको बुझाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*