त्यो बेलाको दसैँ पो दसैँ !
नेपालको इतिहासमा २०३६ साल ‘विशेष वर्ष’का रूपमा मानिन्छ । निरंकुश पञ्चायती शासनविरुद्ध देशभर आन्दोलन भएको वर्ष । जनताको इच्छा बुझ्न तत्कालीन राजा वीरेन्द्रबाट जनमतसंग्रह घोषणा भएको वर्ष । त्यसअनुरूप ‘बहुदलीय शासन व्यवस्था’ अथवा ‘सुधारिएको पञ्चायत व्यवस्था’ भनेर जनताले मत हाल्ने अवसर पाएको वर्ष ।
तर, निर्वाचन परिणाम ‘पञ्चायतराज’कै पक्षमा रह्यो । बहुदलीय व्यवस्था चाहनेको हार भयो । म आफू पनि त्यति बेलै बहुदलीय व्यवस्थाको पक्षपाती । कक्षा–९ मा पढ्दै गरेको, जुँगाको रेखी भर्खर बसी मुस्कुराउँदै रहेको अवस्थामा थिएँ ! जनमतसंग्रहमा हारियो, केही चिन्तामा परियो ।
राजनीतिक चेतको अनौपचारिक पाठशाला
आफ्नो मत हाल्ने उमेर नभए पनि जनजागृति मावि हुँगाले राजनीतिक चेत दिइसकेको थियो । त्यसो त श्रृंगा नमुना निमाविमा कक्षा–७ मा पढ्दादेखि नै हामी राजनीतिक भाषा अलिअलि बुझ्ने भएका थियौँ ।
जानी–नजानी हाम्रै शिक्षकहरू र हाम्रा अग्रज दाजुहरू (अग्रज दिदीहरूले भने त्यो बेलामा राजनीतिमा चासो राखेको देखिएन)ले हामीलाई राजनीतिका कखरा पढाउनुभएको थियो । लुकाइलुकाइ केही ‘राता किताब’ पढ्न उद्यत बनाइसक्नुभएको थियो । कक्षा–९ सम्म आइपुग्दा हामी राजनीतिक रूपमा निकै सचेत भइसकेका थियौँ । २०३६ सालको राष्ट्रिय राजनीतिक माहोलले हाम्रो चेतमा थप ऊर्जा भर्ने काम गरिदियो ।
रोचक कुरा, त्यो बेला पञ्चायत भन्ने विषय मावि तहमा पढ्न पर्थ्यो । खोइ किन हो, पञ्चायत विषय पढ्न र सोधिएका प्रश्नको जवाफ इमानदारितापूर्वक दिन त्यो बेला पनि मेरो मनले मान्दैनथ्यो । तर पनि म सधैँ प्रथम हुने विद्यार्थी भएकोले हरेक विषयमा अब्बल नम्बर आइहाल्थ्यो ।
त्यो बेलाका सरहरू ताराप्रसाद भण्डारी, रणबहादुर सारू मगर, पारसमणि भण्डारी, बुद्धिप्रसाद भण्डारी, प्रेमप्रसाद पाण्डे (गुरु), गणेश ज्ञवाली, गुणनिधि भण्डारी सरहरूलाई यी पंक्ति कोर्दा विशेष रूपले सम्झिरहेको छु । रण सर, प्रेम गुरु र गुणनिधि सर त यो धर्तीबाट ‘माथि’ गइसक्नुभएको छ । तर, हाम्रा मनमस्तिष्कमा उहाँहरू सधैँ रहिरहनुभएको छ ।
आखिर जीवनको चोला न हो, उहाँले पढाएको विद्यार्थी म नै पचासबाट उकालो लागेपछि सरहरूको ‘बुढ्यौली’लाई स्वाभाविक नै मान्नुपर्छ । अरू सरहरूसँग भेटघाट हुन कठिन भए पनि त्यो बेलाका हेडसर ताराप्रसाद भण्डारीसँग भने अहिले पनि काठमाडौंमा बेलाबेला भेट हुन्छ ।
उहाँलाई भेट्दा बडो आनन्द लाग्छ, गर्मीमा हिँडिरहेको बेला एकै छिन छहारीमा बसेको अनुभूति हुन्छ । शीतलताको आभास हुन्छ । विगतका सबै स्मृतिहरू एकापसमा एकसाथ बौरिएर आउँछन् । श्रद्धाले मेरो मन त्यसै–त्यसै पग्लिन्छ ।
गुल्मीका नामुद हेडसरहरूमा ताराप्रसाद भण्डारी सरको नाम सधैँ उच्च स्थानमा छ । पछि उहाँले एसओएस स्कुल (काठमाडौं)मा लामो समय काम गर्दा त्यहाँ पनि राम्रो प्रभाव देखाउनुभयो । कुशल नेतृत्वको नमुना देखाउनुभयो । हामीलाई सधैँ गर्व लाग्छ उहाँप्रति । आखिर ‘हेडसर’ कसको १ खुसीको कुरा, हेडसरले भने मलाई राजनीति कहिले सिकाउनु भएन !
वि।सं। २०३६ । म करिब १५ वर्षको थिएँ, ९ कक्षामा पढ्थेँ । राजनीतिको ‘र’ अलिअलि बुझ्न थालिएको थियो । गुल्मीको श्रृंगा स्कुल, हुँगा स्कुल र दिगाम स्कुल आदि राजनीतिमा त्यो बेला पनि सक्रिय नै मानिन्थे । त्यो बेलाको राजनीति शिक्षकहरूबाट नै धानिएको थियो । विद्यार्थीहरूले तिनै सर र मेडमहरूलाई समर्थन गर्दै ‘जिन्दाबाद’ वा ‘मुर्दावाद’ भन्न सिक्थे ।
भित्री रूपमा कतिपय शिक्षकहरूले विद्यार्थीलाई राजनीतिक प्रशिक्षण पनि दिन्थे । त्यसै माहोलमा आफू पनि साथीहरूको समूहमा मिसिँदा केही बुझ्ने मौका पाइएको थियो । त्यो बेलाको राजनीतिक आस्था र विचार जीवनभरका लागि रह्यो ।
आस्था, विचार, मूल्य र मान्यता कहिल्यै डगमगाउन दिइनँ । स्वार्थका खड्कुँलाले मन कहिल्यै तानेनन् । अटल आस्था, विश्वास र अडिग विचारले जिन्दगीमा कहाँ नाफा घाटा भयो त्यो थाहा छैन, तर स्वाभिमान र आत्मसन्तुष्टि भने उच्च रहेको अनुभूत हुन्छ मलाई ।
र, त्यो दसैँ
गाउँ त्यो बेला पनि राजनीतिमा बाँडिएको थियो । तर, सामूहिक कार्य र सामाजिक मेला–पर्व, उत्सवहरूमा भने सबैका मन एक हुन्थ्यो । अझ दसैँको बेला गाउँ–टोल–बस्तीका बाटो खन्ने (सफाइ गर्ने) काममा घरघरबाट हुने सहभागिता र दिनभर बाटो खन्दा गरिने हासखेल, ठट्टा–मजाकले भने हामी किशोर–किशोरीहरू निकै रोमाञ्चित हुने गर्थ्यौँ ।
‘एक घर एक जन’ भन्ने मान्यता भए पनि हामी कतिपय घरबाट बुबा, आमा, दिदी, दाइहरूका पछि लागेर ‘सहभागितात्मक बाटो सुधार कार्यक्रम’मा सामेल हुन्थ्यौँ । दसैँ छुट्टीको बेला त्यस्ता गतिविधि पर्ने भएकोले त्यो समयमा किताब–कापीलाई पन्ध्र दिनका लागि ‘प्याक’ गरी थन्क्याएर पूर्ण रूपमा सामूहिक काम, रङ–रमाइलोमा समर्पित गरिन्थ्यो । ‘मलाई चिन्ता छैन केही’ को मुडमा सबै कुरा चलेका हुन्थे ।
त्यो बेला दसैँ र घर लिपपोतको नजिकको नाता थियो । कमेरो, गेरु, रातो माटो र कालो रोगनको बास्ना गाउँभरि चल्थ्यो । मरे–परेको घरबाहेक गाउँका सबै घरमा कमेरो, गेरु, रातोमाटो र रोगन पोतिएन भने त्यो घरमा दसैँ नै नआएको मानिन्थ्यो । कतिपयले घर लिपपोतमा नभ्याउनेलाई सघाउने चलन थियो । अर्मपर्म खुब चल्थ्यो । अहिलेजस्तो सबै कुरालार्ई पैसासँग दाँज्ने चलन त्यो बेलामा आइसकेको थिएन ।
मलाई दाजुहरूसँग मिलेर घर पोत्न खुब मजा लाग्थ्यो । घरको बुर्जामा चढ्न बाबाले दिनु हुन्नथ्यो, तर बाँसको भर्याङ चढेर पोत्न मिल्ने र रोगन लाउन मिल्ने ठाउँमा म राम्रैसँग गर्थेँ । कक्षा आठ, नौ र दशमा पढ्दा म यस्ता काममा परिपक्व नै भएको अनुभव हुन्थ्यो ।
अन्य कृषिकर्म सबै सम्हाले पनि भैँसी दुहुने र हलो जोत्ने काम भने मैले कहिल्यै गरिनँ । मेरो माइल्दाइ (त्रिलोचन) भने त्यो मामिलामा पनि पोख्त हुनुहुन्थ्यो । ठूल्दाइ (अनन्तराम) भने कक्षा–८ देखि नै रुपन्देहीको मणिग्रामतिर गएर पढेकोले घरका सानातिना काममा अल्झन परेन ।
तर, उहाँ जे काम गर्नुहुन्थ्यो, त्यो भने सिक्नलायक हुन्थ्यो । नजानेर भन्दा पनि नपरेर उहाँले कतिपय कृषिकर्ममा डुब्नु परेन । दसैँका बेला दाइ मधेसबाट घरमा आउने, दिदीभिनाजु पनि लाहुरबाट आउने आदि कुराले हाम्रो दसैँमा अझ रौनक थपिन्थ्यो । उहाँहरूको आगमनका साथमा उहाँहरूले हामीलाई केही ल्याइदिने कुराले हाम्रो ध्यान तान्थ्यो । आखिर केटाकेटी न परियो !
गाउँमा जब आउँथे ‘परदेश’ गएकाहरू, तब सुरु हुन्थ्यो गाउँभरि पिङहरू राख्ने काम । पिङका लागि खर काट्न पनि गइयो, एक–दुई रुप्पे पनि उठाइयो । ‘पल्लो गाउँको भन्दा हाम्रो पिङ ठूलो’ भनेर फुर्ती लाउने काम पनि हुन्थ्यो । गाउँभरि सहभागिताका पिङ झुन्डिँदा, हरेकका हातमा लट्टाई र चंगा सजिँदा मलाई ती दसैँ औधी आनन्दमय लाग्थे ।
दाइहरूका पछि लाग्दै दिगाम, मुसीडाँडा, भालुपानी, चोयगा आदि ठाउँका राम–रमितामा जाने, गाउँघर भ्रमण गर्ने, असोज–कार्तिकमा उपलब्ध हुने फलफूलहरू, खासगरी बेलौती (अम्बा), सुन्तला (काँचा), अमिला (निबुवा) र भब्बु (भोगटे) खाँदै हिँड्ने र गोजीमा अलिकति पैसा भए त्यो क्षेत्रका नामुद पिपलनेटे दाइ, शोभाखर दाइ र प्यारीलाल दाइका स्थानीय होटेलहरूमा पाकेका जिलेबी, समोसा (सिँगडा), कुँइचा, पेडा, पकौडी र चुकाउनी खाँदाका ती क्षण अब जति पैसा खर्च गरे पनि कहाँबाट आउनु ? ती दिन फेरि कहिले पाउनु ?
त्यो बालवयी बेलाका दसैँका हरेक कुरा सम्झँदा म अति भावुक हुन पुग्छु । सायद सबैलाई हुन्छ मलाई जस्तै १ मेरो त्यो बेलाको श्रृंगा (गुल्मी) खर्लप्पै उत्रेर मेरो दिमागमा आउँछ । विशेषतः २०३६ सालको बडादसैँ मेरो मनमा अझ ताजा छ । किनकि, त्यो वर्ष म आमासँगै मावली जाँदा दुईदिने पदयात्राका साथ अर्घाखाँची, कपिलवस्तु र रेल चढेर भारतको गोण्डा\बस्ती\पूर्णियाको अपूर्व भ्रमण गर्ने अवसर पाएको थिएँ ।
यी पंक्ति कोर्दै गर्दा मेरा बाबा, आमा र माइल्दाइ कम्प्युटरको स्क्रिनअगाडि आएर मलाई आशिक दिइरहनुभएको छ । शुभदसैँ २०७८ भनिरहनुभएको छ १ त्यो बेला मलाई भारत घुमाउने मेरा कान्छा मामा अहिले असीको हाराहारी हुनुहुन्छ, जोसँग यसपटक पनि टीका थाप्दै छु । शुभाशीष लिँदै छु ।बाह्रखरीका लागि चेतनाथ कणेलले लेखेको सामाग्री हामीले साभार गरेका हौँ ।







