कविता : अंग्रेजी प्रोफेसर

प्रशन्न ढुङ्गाना
२०७८ भाद्र २८, सोमबार १९:५२

हिउँ जस्तै सेतो कपाल
ठूलो पावरदार चस्मा
मिलेको जिउडाल
उनी हुन अग्रेजीका प्रोफेसर ।

विश्वविद्यालयको पहिलो दिन
उनले अंग्रेजीमै दिए लेक्चर
मैले नबुझेरै टाउको हल्लाए
साथीहरु हाँस्दा म पनि हाँसिदिए
उनले सुनाए जिवन दर्शन र
पाश्चात्य साहित्यका कुरा अंग्रेजीमै
मैले केही नबुझेरै धेरै बुझेझै
ताली बझाएँ सहपाठीसँगै मुस्कुराए ।

एक दिन मैले उनलाई
नेपाली मै सोधे
सर के तपाई
अग्रेजी मै सपना देख्नुहुन्छ ?
अग्रेजी मै मन–मनै बात गर्नुहुन्छ ?
कथा, कविता पनि अग्रेजीमै लेख्नुहुन्छ ?
कि तपाई सास पनि अग्रेजीमै फेर्नुहुन्छ ?
सबै विद्यार्थीहरु गलल्ल् हाँसे र
कक्षामा शून्यता छायो
ती प्रोफेरबाट उत्तरको सट्टामा
‘यु’‘नन्सेन्स’ ‘स्याटअप’
भन्ने गालि आयो ।

अर्को दिन मैले फेरी
प्रश्न गरे त्यो पनि नेपाली मै
सर अग्रेजी नजाने के हुन्छ ?
के जिवनको ढोका बन्द हुन्छ ?
के सारा संसार अन्धकार हुन्छ ?
मान्छे निकम्बा हुन्छ ?
उनले ती प्रश्नको पनि उत्तर दिएनन्
तर मनमनै भने होलान्
कस्तो काम नलाग्ने
अंग्रेजी पनि नजान्ने
सिल्ली विद्यार्थी रहेछ ।

अंग्रेजी प्रोफेसरको ४५ मिनेटको कक्षा
मलाई ठूलो सजाय जस्तो लाग्छ ।
उनी आफ्नै सुरमा बर्बराउछन्
मलाई अंग्रेजीले साह्रै निन्द्रा लाग्छ
हो जुन दिन उनको कक्षा खाली हुन्छ
त्यसै दिन मात्र विश्वविद्यालयको सजायबाट मुक्ति पाए जस्तो लाग्छ
मनले भन्छ कस्तो शिक्षा लिदैछौँ हामी ?
कस्तो सार्टिफिकेट बाँढ्दैछ विश्वविद्यालय
अलमलमा छन म जस्ता कयौँ विद्यार्थी
म भन्दा पनि अलमलमा छन्
ती प्रोफेसर, ती प्रोफेसर ।

यसमा तपाइको मत

Your email address will not be published.


*