साना दलको समर्थनमा पनि टिक्दैन शाक्य नेतृत्वको वागमती सरकार
मकवानपुर । नेकपा एमाले विभाजन भए सँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार धरापमा परेको छ । एकता जोगाउनको लागि भन्दै डोरमणी पौडेलले राजीनामा दिएर एमालेले शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थियो । तर, शाक्य मुख्यमन्त्री भएको एक सातापछि नै एमाले विभाजन भएपछि शाक्य अल्पमतमा परेकी हुन् ।
वागमती प्रदेशसभामा कायम रहेका स–साना दलहरूको समर्थन पाउँदा समेत मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिक्ने अवस्था देखिँदैन ।
कुल ५६ सिटबाट ४३ सांसदमा खुम्चिएको एमालेलाई सरकार टिकाउन थप १३ सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभाका साना ४ दलले साथ दिने हो भने पनि ती दलका कुल सांसद संख्या ८ मात्र पुग्छ । उनीहरुको साथबाट पनि शाक्य नेतृत्वको सरकार जोगिने अवस्था छैन ।
प्रदेशसभामा विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र एक गरी ८ सांसद् छन् । एमालेलाई सरकार टिकाउन १३ सांसद आवश्यक पर्नेमा साना दलको समर्थनले मात्र पनि सरकार टिक्न नसक्ने देखिएको हो ।
वागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये १३ नेकपा एकीकृत समाजवादीका, २३ नेकपा माओवादी केन्द्रका, २२ नेपाली काँग्रेसका सांसद छन् । यी तीन दल मिल्दा प्रदेशसभामा गठबन्धनको पक्षमा ५८ सांसद हुन्छन्, जो प्रदेशसभाको पूर्ण बहुमत संख्या हुन्छ ।







