काङ्ग्रेस हस्तीलाई चुनाव जित्नै हैरानी

अखबार हब
२०७८ भाद्र २६, शनिबार ०८:२९

मकवानपुर । २०५४ सालमा भर्भराउँदो नेकपा एमालेसँग चुनावी सामना गर्ने पुराना र इमान्दार काङ्ग्रेस नेता भरत पराजुलीले बुथमै चुनाव हार्लान् भन्ने कुरा काँग्रेसजन र बाहिरसमेत कल्पनाभन्दा निकै बाहिरको मानिन्छ । तर,कल्पनै नगरिएको कुरा यसपटक मकवानपुर काँग्रेसमा हुन पुग्यो, महासमिति सदस्य तथा जिल्ला सल्लाहकार पराजुलीले मनहरी गाउँपालिका ४ स्थित आफ्नै वडाबाट हार्नुपर्यो, त्यो पनि अन्तिमतर्फको दोस्रो भएर ।

वडाबाट बुथ प्रतिनिधि बन्ने समावेशीतर्फका १० जना निर्विरोध छानिए पनि खुलातर्फको ६ वटा कोटामा निर्वाचन भयो । भद्र स्वभावका पराजुली जिल्लाकै प्रभावशाली नेता हुन्,मत मागिरहन र बढी चलखेल गर्न जरुरी पनि ठानेनन् । तर,चुनावमा भइदियो उल्टो । पराजुलीले भने –‘क्रियाशील सदस्यता बितरण मनमौजी तरिकाले हुँदा इमान्दार कार्यकर्ताहरु पाखा लाग्नुपर्ने स्थिति देखियो,एउटा पाठ सिकेँ ।’

कूल ५९ जना क्रियाशील सदस्य रहेको मनहरी ४ नं वडामा अरु सामान्य कार्यकर्ताले बुथ प्रतिनिधिमा जिते भने पराजुलीको पक्षमा जम्मा २३ मत मात्रै प्राप्त भयो । ६ जनाका लागि ९ जना बीच भएको चुनावमा उनी आठौँ नम्बरमा रहेर पराजित भए । आन्तरिक टकराव र गुटको तीव्र संघर्षको शिकार बन्नुपर्यो पराजुलीले । उहाँ काँग्रेस सभापति इन्द्रबहादुर बानियाँनिकट अर्थात देउबा पक्ष मानिनुहुन्छ भने सोही वडाबाट दोस्रो नम्बरमा बुथ प्रतिनिधिमा निर्बाचित अर्का नेता शंकर न्यौपाने पौडेल पक्षका नेताका रुपमा परिचित हुनुहुन्छ ।

२०७४ को स्थानीय तहको निर्बाचनमा ३०९ मतान्तरले न्यौपाने एमालेका एकराज उप्रेतीसँग गाउँपालिका अध्यक्षमा पराजित उम्मेदवार हुनुहुन्छ । उहाँको जीवनसँग जोडिएको अर्को चाखलाग्दो घटना पनि छ–मनहरी १ का काँग्रेस कार्यकर्ता एबम् समाजसेवी चतुर्भुज न्यौपानेले बिष सेवन गरी आत्महत्या गर्नुअघि लेखिएको सुसाइड नोटमा लेखिएको थियो–मेरो सद्गद् काँग्रेस नेता भरत पराजुलीले गर्नु, काँग्रेस झण्डा ओढाउनु । र, गरियो पनि त्यस्तै ।

त्यसो त कुरा पराजुलीको मात्रै होइन, २०३६ सालको विद्यार्थी आन्दोलनमा गोली खाएका र पटक पटक नेपाली काँग्रेस जिल्ला सभापतिको रुपमा काम गर्नु भएका माइकल रामचन्द्र अर्याल पनि चुनावको जोखिममा पर्नुभयो । नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिका २ नं वडामा १८ जना खुला बुथ प्रतिनिधि छनौटका लागि भएको निर्बाचनमा अर्याल १७ औँ स्थानमा बल्ल बल्ल निर्बाचित हुनुभयो भने नेपाल विद्यार्थी संघका महामन्त्री तथा काँग्रेस मकवानपुरमा यसअघि सभापति पदमा इन्द्रबहादुर बानियाँसँग निर्बाचनमा होमिएका प्रभात दाहाल १६ औँ स्थानमा निर्बाचित हुनुभयो । अर्याल र दाहाल दुबैजना संस्थापन इतरका नेताहरु हुन् ।

नेपाली काँग्रेस स्रोतले जनाए अनुसार जिल्लाभर भएका बुथ प्रतिनिधि छनौटको निर्बाचनमा तीनजना जिल्ला सदस्यले चुनाव हारेका छन् । चुनाव हार्नेहरुमा हेटौँडा ५ नं वडामा भएको निर्वाचनमा विद्यार्थी विभाग प्रमुख समेत रहेका जिल्ला सदस्य राजीव सुवेदी, १ वडामा भएको निर्बाचनमा अर्का जिल्ला सदस्य विजय तिमिल्सिना र जिल्ला सदस्य एबम् मजदुर विभाग प्रमुख हरि वाग्लेले बुथ प्रतिनिधिमै चुनाव हारेका छन् ।

आगामी जिल्ला निर्वाचनमा १७ सय बढी प्रतिनिधिले मत हाल्दैछन् । काँग्रेसका बर्तमान सभापति इन्द्रबहादुर बानिया सभापतिमा दोहोरिने तयारीमा छन् । यसअघि बागमती प्रदेश सभापति बन्ने तयारीमा रहेका बानिया प्रदेशमा देउवा पक्षको उपस्थिति कमजोर देखिएपछि जिल्लामै दोहोरिने मनस्थितिमा पुगेको बताइन्छ । यसैबीच बुथ प्रतिनिधि छनौटमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि बानिया पक्षधर चुनिएको भन्दै बानियाँ पक्षधरको अनुहार हँसिलो हुँदै गएको छ । जनआस्था डट कमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published.


*