आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि वाइसीएल जाग्नुपर्ने–मोक्तान
मकवानपुर । नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले विभिन्न आन्दोलनबाट प्राप्त जनताको अधिकार रक्षाकालागि अव वाइसीएल सकृय रुपमा जाग्नुपर्ने बताएकी छन् ।
आज (शुक्रबार) वाइसीएल हेटौंडा उपमहानगर कमिटिको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । हाल जनताको आन्दोलनबाट प्राप्त जनअधिकारलाई अनेकन बाहानामा कमजोर बनाउने षडयन्त्र भइरहेको भन्दै यसकालागि वाइसीएल जाग्नुपर्ने उनले बताइन् । यस्तै, परिवर्तनको वाहक शक्ति युवाहरु भएकाले छरिएर रहेका युवाहरुलाई संगठित गराउनुपर्ने, विभिन्न सामाजिक जनसेवाका कामहरुमा वाइसीएल टिम लाग्नुपर्ने उनले उल्लेख गरिन् ।
भेलाले विरबहादुर गोले (सानो) को संयोजकत्वमा १०१ सदस्यीय वाइसीएल हेटौंडा उपमहानगर सम्मेलन आयोजक कमिटि गठन गरिएको माओवादी केन्द्र मकवानपुरका प्रचार प्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए । कमिटिको सदस्यहरुमा ओम पुडासैनी, राजकुमार घिमिरे, संगम राई, भोजराज पराजुली, शम्भु लामा, सरोज गुरुङ लगायतका रहेका छन् ।
भेलाबाट आगामी कात्तिक १३ गते नगर सम्मेलन गर्ने घोषणा गरिएको छ ।







