महाधिवेशन सकिएको साढे तीन महिना नबित्दै एमालेमा विशेष महाधिवेशनको चर्चा
काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको छ। केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बनाउँदै एमालेको ११औँ महाधिवेशन सकिएको साढे ३ महिनामात्र हुँदैछ ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूले हालैको निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ऐतिहासिक पराजय र नेतृत्वप्रति जनताको अविश्वासलाई मुख्य कारण देखाउँदै हस्ताक्षर अभियान थालेका हुन् ।
केन्द्रीय कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारीसमेतको सहभागितामा थालिएको यो अभियानमा अहिलेसम्म ४४० जनाले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ ।
एमालेको विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ ।
यदि महाधिवेशन आयोजना नगरिए महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले महाधिवेशन आयोजक कमिटी बनाएर विशेष महाधिवेशन आयोजना गर्न सक्ने वैधानिक व्यवस्था रहेको छ ।
विशेष महाधिवेशनको माग गर्ने पक्षक्षरले काठमाडौं उपत्यकाका १५ मध्ये ११ क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत हुनु र अधिकांश चर्चित र शीर्ष नेताहरू भारी मतान्तरले पराजित हुनु जनताको भावना अनुसार पार्टी नचल्नुको परिणाम भएको निचोड निकालेको छ ।
एमाले इतिहासको संगीन मोडमा आएको भन्दै मौजुदा कुनै कमिटीमा सामान्य समीक्षाले मात्र निकास नदिने एक नेताले बताए ।
दलको नेतामा सुहाङलाई रोकेर समयको बेग बुझ्न नसकेको पार्टी पङ्क्तिकै आलोचनालगत्तै ‘बादल प्रकरण’ एमालेको पछिल्लो संकटको पानीढलो बनेको छ । उनको अभिव्यक्तिलाई लिएर विष्णु पौडेलजस्ता नेता नै सार्वजनिक प्रतिवादमा उत्रिनुले अब एमालेमा नेतृत्व परिवर्तनको संघर्ष निर्णायक मोडमा पुगेको केही नेता बताउँछन् ।









