सुरक्षित आप्रवासन कार्यक्रम सुदृढ गर्न प्रदेशस्तरीय समन्वय बैठक
हेटौंडा । बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समिति (पीपीसीसी)को बैठक सम्पन्न भएको छ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रमको प्रगति समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको छ। बैठकमा चालु आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालित गतिविधि तथा प्राप्त उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको थियो।
बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै, कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइ ९एऋक्ष्ग्९ए० बाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरिएको छ।
कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय तहमा प्रदान गरिँदै आएको प्राविधिक सहयोगलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने रणनीति समेत बैठकले तय गरेको छ। यसका साथै प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रीले सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी, परिणाममुखी र दिगो बनाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
“सुरक्षित आप्रवासन कार्यक्रमले श्रमिकलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसलाई अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म संस्थागत रूपमा स्थापित गर्न आवश्यक छ,” मन्त्री थापाले भने।
उनले कार्यक्रम कार्यान्वयनमा सबै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाइने बताए।
बैठकमा स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तालिम केन्द्रले मनोसामाजिक सेवा प्रवाह सम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतीकरणपछि सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा मजबुत बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धमा सिफारिस गर्ने निर्णय समेत गरेको छ।
बैठकमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव, स्वीस विकास सहयोग (एसडिसी) का प्रतिनिधि, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार बैठकबाट कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र तय भएको र आगामी दिनमा समन्वयलाई थप सुदृढ बनाउँदै लैजाने विश्वास लिइएको छ।









