सात दशकसम्म पनि पूरा भएन हेटौंडा–काठमाण्डौं जोड्ने कान्ति लोकपथ

अखबार हब
२०८२ चैत्र २६, बिहीबार ०९:२९

हेटौंडा । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथ निर्माण सुरु गरेको सात दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । उक्त लोकपथको निर्माण काठमाडौं–वीरगन्ज जोड्ने त्रिभुवन राजपथको विकल्पका रूपमा विसं २०१३ बाट सुरु भएको हो । यो लोकपथलाई काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ ।

७९ किलोमिटर लम्बाइ रहेको मुलुककै पुरानो सडक आयोजनामध्येको यो लोकपथको निर्माण सात दशकमा ७१ प्रतिशत मात्र सम्पन्न भएको छ । नेपाली सेनाले २०१३ देखि २०१६ सालसम्म यसको ट्रयाक खोलेर निर्माण सुरु गरेको थियो ।

कान्ति लोकपथ आयोजनाका सूचना अधिकारी उपेन्द्र महरानले आयोजनाको करिब दुई तिहाई काम भइसकेको बताए । बजेट अभाव तथा प्राकृतिक कारणले यो आयोजनाको काम सम्पन्न हुन ढिलाइ भएको उनको दाबी छ । २०१३ सालदेखि उक्त लोकपथको ट्रयाक खोल्ने कार्य सुरु गरेको भए पनि आर्थिक वर्ष २०६४/६५ देखि नेपाल सरकारले प्राथमिकतामा राखेर निर्माण सुरु गरेको सूचना अधिकारी महरानले बताए।

०६४/६५ देखि अहिलेसम्म उक्त लोकपथको निर्माणमा ८ अर्ब ४० करोड लगानी भइसकेको उनले बताए । आगामी आर्थिक वर्ष ०८३/८४ सम्म आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ७९ किलोमिटर लम्बाइ रहेको यो लोकपथको अब साढे चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।

कालोपत्र गर्न बाँकी रहेको ठाउँमा अहिले एक लेनको मात्र सडक छ । चट्टान काटेर उक्त स्थानमा दुई लेनमा स्तरोन्नति गरिन लागेको छ ।  दूरी कम भए पनि भौगोलिक कठिनाइका कारण काम सम्पन्न गर्न समय लागेको सूचना अधिकारी महरानले बताए । चालु आर्थिक वर्षका लागि ठेक्काको कुल दायित्व १ अर्ब ५० करोड रहेको छ । चालु ठेक्काको विनियोजन रकम ४७ करोडमात्र छ ।

उक्त लोकपथको रेटिङवाल, कटिङ, ढल र कालोपत्र गर्नका लागि ८ वटा ठेक्का लगाइएको छ । निर्माण कम्पनीहरूले धमाधम काम गरिरहेको सूचना अधिकारी महरानले बताए । काठमाडौंतर्फबाट शून्य किलोमिटर ललितपुरको टीकाभैरव र हेटौंडाबाट बुद्धचोक रहेको छ । टीकाभैरवदेखि बुद्धचोकसम्म कुल ७९ किलोमिटर छ । सामान्य अवस्थामा यस सडकको चौडाइ दुई लेनको रहे पनि भौगोलिक रूपले साँघुरो भएको स्थानमा यसको चौडाइ डबल लेन र सिंगल लेनको बीचमा रहेको सूचना अधिकारी महरानले बताए ।

हेटौंडाको बुद्धचोकदेखि टीकाभैरवसम्मको सडक कान्तिलोक पथ सडक योजनाले हेर्ने गरेको छ । टीकाभैरवदेखि सातदोबाटोसम्मको १० किलोमिटर सडक उपत्यका सडक विस्तार आयोजनाले हेर्दै आएको छ । गत आर्थिक वर्षदेखि यस सडकको डिजाइन परिवर्तन गरी टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म गरिएको छ । यस सडकमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर पर्छ ।

नेपाली सेनाले सडक निर्माणका कामको थालनी कान्ति लोकपथबाट सुरु गरेको हो । सेनाले अहिले तीन दर्जनभन्दा बढी सडक मार्ग निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । पछिल्लो समयमा उसले काठमाडौं-निजगढ फास्टट्रयाक (द्रुतमार्ग) निर्माणको पनि जिम्मेवारी लिएको छ ।  कान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published.


*