बागमती गोल्डकपको आठौँ संस्करण बैशाखमा
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी बैशाखमा हुने भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो।
बागमती खेलकुद विकास समितिका संयोजक रहर सिं थिङले आगामी बैशाख १७ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने बताए। प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी हुने उनले बताए।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले हरेक वर्ष फाल्गुनमा गोल्डकप आयोजना गर्दै आइरहेको भए पनि यो लिग प्रतियोगिताका कारण पछाडी सार्नुपरेको बताए। पालिकाले खेल क्षेत्रमा लगानी गरेर आफ्नै रंगशाला तयार पारेर एकेडमी सञ्चालन गर्न लागेको बताए। गोल्डकपका लागि पालिकाले ५० लाख बजेट विनियोजन गरेको अध्यक्ष घलानले बताए।
प्रतियोगितामा मलेसियाको पेनाङ फुटबल क्लबसहित चर्च ब्वाईज युनाइटेड, मछिन्द्र क्लब, एपीएफ, त्रिभुवन आर्मी, फ्रेन्ड क्लब, प्लानिङ ब्वाईज युनाइटेड, बागमती युथ क्लब, जीतपुर सिमरा क्लब र आयोजक टिम सहभागी रहने छन् ।
प्रतियोगिता बागमती-४ स्थित सहिद स्मृति रंगशालामा खेलाइने छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५-२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०-१० हजार प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा बागमती-३ का वडाध्यक्ष कमान सिं पाख्रीन, ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, एन्फा मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, एन्फा मकवानपुरका सदस्य आलोक स्याङ्तन, खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा र सदस्य आकाश लोप्चन लगायतको उपस्थिति रहेको थियो









