एमालेसँगको भागबण्डाबारे मलाई थाहा छैनः मुख्यमन्त्री बानियाँ
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको मुख्यमन्त्रीमा आलोपालो भागबण्डाबारे आफूलाई थाहा नभएको बताएका छन् ।
सत्ता साझेदार दल एमालेले विगतमा कांग्रेससँग भएको सहमतिअनुसार नेतृत्व हस्तान्तरणको विषय उठाइरहेको बेला मुख्यमन्त्री बानियाँले भागबण्डाबारे अनभिज्ञता देखाएका हुन् ।
‘भागबण्डाको कुरा मलाई थाहा छैन । पार्टी नेतृत्वलाई पनि यसबारे जानकारी छैन,’ सोमबार मुख्यमन्त्री कार्यालयमा भएको मुख्यमन्त्री र मन्त्रीहरूको पत्रकारसँग अन्तरसंवादका क्रममा उनले भने, ‘यहाँ कांग्रेस र एमालेकै मन्त्री ज्युहरू हुनुहुन्छ, उहाँहरूलाई पनि थाहा छैन ।’
कांग्रेस र एमालेबीच गत वर्ष साउनमा संयुक्त सरकार निर्माण हुँदा २०र२० महिना आलोपालो मुख्यमन्त्री हुने सहमति थियो । जतिबेला एमालेको समर्थनमा कांग्रेसबाट दलका नेतासमेत रहेका बहादुरसिंह लामा मुख्यमन्त्री नियुक्त भएका थिए ।
लामाले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको कांग्रेसको लामा पक्षका सांसद बताउँछन् । थपलियाले पूर्वसहमति अनुसार फागुनपछि नेतृत्व हस्तान्तरण हुनुपर्ने विषय उठाउँदै आएका छन् ।
तर, लामा मुख्यमन्त्री बनेको एकवर्षपछि कांग्रेस संसदीय दलमा बहुमत जुटाएका बानियाँले अविश्वासको प्रस्ताव दर्ता गरेर उनलाई हटाएका थिए ।









