हेटौंडामा सरकारी सेवा घरदैलोमा उपलब्ध गराउन हुलाकसँग छलफल

अखबार हब
२०८२ चैत्र २१, शनिबार २०:५१

हेटौंडा । नेपाल सरकारले सार्वजनिक गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाक कार्यालयसँग पहिलो चरणको छलफल गरेको छ ।

राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गराउने उद्देश्यले हुलाक कार्यालयसँग समन्वयात्मक छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्ला हुलाक कार्यालय मकवानपुरका हुलाक अधिकृत रमेश लामिछानेसँग घरदैलो सेवाका लागि हुलाकको अत्यधिक र व्यावसायिक प्रयोगबारे छलफल गरेका थिए ।

सुरुमा जिल्ला प्रशासन कार्यालयबाट ५ सय वटा राहदानी सेवाग्राहीको हुलाक कार्यालयले घरमै पुर्‍याउन जाने प्रणाली व्यवस्थित गर्न लागेको प्रजिअ अधिकारीले बताए । यसका लागि हुलाक कार्यालयको हालको क्षमता तथा जनशक्ति, आवश्यक बजेट र स्रोतसाधनबारे जानकारी लिँदै प्रजिअ अधिकारीले मकवानपुरका ९१ वटा सरकारी निकायका वितरणसँगै घरदैलो सेवा दिने योजनाबारे छलफल समेत गरिएको थियो ।

हुलाक कार्यालयका अधिकृत रमेश लामिछानेले हाल स्रोतसाधनको कमी तथा सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा तत्काल काम गर्न नसकिने भए पनि हेटौंडा उपमहानगरपालिकाभित्र भने आगामी वैसाखको सुरुबाटै घरदैलो सेवा गर्न सकिने बताए ।

हालको गतिलाई वृद्धि गर्दै हेटौंडा उपमहानगर क्षेत्रभित्रका कार्यालयमा एकैदिन र अन्य पालिकामा भोलिपल्टसम्म सेवा दिनुपर्ने प्रजिअ अधिकारीले बताए । राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० लगायतका अन्य सेवा समेत विस्तार गरी घरदैलो सेवामा परिणत गर्ने संघीय सरकारको तयारी रहेकोले हुलाक कार्यालयको क्षमता विकास तथा विस्तार गर्नुपर्ने उनले बताए ।

हुलाक कार्यालय मकवानपुरमा हाल ४६ जना कर्मचारी कार्यरत छन् । हाल जिल्लामा ९ वटा पालिका हुलाक, २ हुलाक काउन्टर र एउटा जिल्ला कार्यालय छ । हाल कार्यालयले दैनिक सरकारी कार्यालय तथा बैदेशिक पार्सल गरी १ सय चिठ्ठीपत्र वितरण तथा ओसार–प्रसार गर्दै आएको छ । जिल्लाका सञ्चार माध्यमहरुलाई लोक कल्याणकारी विज्ञापन वितरणको समन्वय समेत गर्दै हुलाक कार्यालयले गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*