१ सय ७१ केजी गाँजासहित राक्सिराङका अक्कल प्रहरी फन्दामा
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीले ठूलो परिमाणको गाँजासहित चालकलाई पक्राउ गरेको छ ।
प्रहरीले गाँजा ओसार पसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय ७१ केजी गाँजासहित गाडी चालक राक्सिराङ गाउँपालिका–४ का २० वर्षीय अक्कलप्रसाद स्याङतानलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीबाट मंगलबार खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–९ स्थित हरियाली सामुदायिक जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा आउँदै गरेको गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाएर ल्याइएको गाँजा फेला पारेको हो ।
राक्सिराङ गाउँपालिका–१ भाबरबाट मनहरी–९ खरंगा हुर्द पूर्व–पश्चिम राजमार्गतर्फ आउँदै गरेको बा १३ च २०१४ नम्बरको गाडी चेकजाँच गर्दा गाडीको पछाडि लोड गरिएको अवस्थामा २७ प्याकेट लागूऔषध गाँजा फेला परेको इप्रका मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
प्रहरीले प्लास्टिकका प्याकेटमा प्याक गरेका १ सय ७१ केजी २१ ग्राम गाँजासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।









