राना र बर्तौला जिताउन लोकतान्त्रिक मगर संघ खटियो, १८ जनाको समिति परिचालन

अखबार हब
२०८२ फाल्गुन ६, बुधबार २२:०१

हेटौंडा । नेपाल लोकतान्त्रिक मगर संघ, मकवानपुरले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको नेकपा एमालेका उम्मेदवारलाई निर्वाचनमा जिताउन खटिएको छ ।

नेकपा एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना र २ नम्बर क्षेत्रका उम्मेदवार महेशकुमार बर्तौलालाई निर्वाचनमा जित दिलाउन आवश्यक सहयोग गर्ने संस्थागत निर्णय गर्दै चुनावी मैदानमा होमिएको हो ।

मंगल रखाल मगरको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष पार्वती राना मगरलगायतको आतिथ्यतामा बुधवार भएको जिल्ला समितिको बैठकले १ र २ नम्बर क्षेत्रमा संघले निर्वाचन परिचालनका लागि दुई वटा समूह पनि बनाएको छ । संघले १ नम्बर क्षेत्रमा जिल्ला समिति उपाध्यक्ष केदार राना मगरको संयोजकत्वमा ९ सदस्य समिति बनाएको छ ।

२ नम्बर क्षेत्रमा जिल्ला सचिव महेन्द्र राना मगरको संयोजकत्वमा ९ जनाको परिचालन समिति गठन गरिएको संघ जिल्ला उपाध्यक्ष केदारले जानकारी दिए । उनका अनुसार लोकतान्त्रिक मगर संघले मकवानपुरसँगै समग्र मुलुकको विकास, सुशासन र देशको जटिल परिस्थतिलाई सम्हाल्न नेकपा एमाले जित अपरिहार्य रहेको बारे दुवै निर्वाचन क्षेत्रमा मतदातासँग साक्षात्कार गरिरहेको छ ।

मतदाताहरुले एमालेका उम्मेदवार राना र बर्तौलाको जित जिल्लाको विकास र समृद्धिको लागि आवश्यक रहेको औंल्याएको उपाध्यक्ष केदारले बताए । उनले मकवानपुरमा २० हजार जना मगर समुदायका मतदाता रहेको बताए । जसमा नेकपा एमालेका शुभचिन्तक र समर्थक ६० प्रतिशत रहेको उपाध्यक्ष केदारको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*