कैलाश-राक्सिराङ समृद्धिको खाकासहित बर्तौला चुनावी मैदानमा
हेटौंडा । नेकपा एमाले मकवानपुरले निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिकाको अम्बाटारमा सोमबार चुनावी सभा सम्पन्न गरेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमाले उम्मेदवार महेश बर्तौला स्पष्ट भिजन र समृद्धिको खाकासहित जनताको घरदैलोमा पुग्नुभएको हो ।
सभालाई सम्बोधन गर्दै बर्तौलाले आफू यहीँको माटो र भावना बुझ्ने ‘धर्तीपुत्र’ भएको दाबी गर्दै विपक्षीहरूको ‘पर्यटक’ शैलीमाथि कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, “कतिपयलाई यहाँको भूगोलको ज्ञान छैन, उनीहरू च्याटजिपिटीमा जवाफ खोजेर राजनीति गर्न खोज्दैछन् । म यहाँको रगत-पसिना बुझ्ने योद्धा हुँ ।”
बर्तौलाले निर्वाचित भएपछि ‘कैलाश-राक्सिराङ समृद्धि विशेष कार्यक्रम’ मार्फत गरिबी निवारण र पूर्वाधार विकास गर्ने ऐतिहासिक प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य भारती पाठकले बर्तौलालाई रूपचन्द्र विष्टको ‘असल अनुयायी’ र स्वच्छ छविको नेताका रूपमा चित्रण गर्नुभयो ।
त्यस्तै, जिल्ला उपाध्यक्ष हिदम लामा र निर्वाचन फोकल पर्सन आशिष अस्लामीले बर्तौलाको संसदीय अनुभव र कानुनको ज्ञान यस क्षेत्रको कायापलटका लागि अपरिहार्य रहेको बताउनुभयो ।
एमाले नेता नरेन्द्र रिजालले यस निर्वाचनलाई राष्ट्रवादी शक्ति र अस्थिरता निम्त्याउने शक्ति बीचको वैचारिक युद्ध भएको उल्लेख गर्नुभयो । अम्बाटारमा आयोजित उक्त सभामा स्थानीय तथा जिल्ला तहका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।








